‘घर–घर जानोस्’


काठमाडौं, (नेस)।प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई जनताको घर–घरमा जान निर्देशन दिनुभएको छ।

उहाँले सरकारले गरेको राम्रो काम बुझाउन र जनताको समस्या बुझ्नका लागि जनताको घर–घरमा जान सांसदहरूलाई निर्देशन दिनुभएको हो।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारले गरेका र गरिरहेका कामका बारेमा जनतालाई यथार्थ बुझाउनुपर्नेमा जोड दिनुभएको हो।

दशैं–तिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘विरोधीले जसरी हल्ला फैलाएका छन्, तिनीहरूलाई तथ्यका साथ चिर्नुहोस्, राम्रो कामको प्रचार गर्नुहोस्।’