नेकपामा गाँठो फुक्दै ६ महानगरका अध्यक्ष र सचिव छानिए


काठमाडौं, (नेस)।नेपाल कम्युनिस्ट पार्टीको सचिवालयले जिल्ला इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष, सचिवको टुंगो लगाए पनि स्थानीय कमिटीको एकता प्रक्रियाले गति लिएको छैन।

जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य, प्रवास कमिटी निर्माण, पोलिटब्युरो गठन आदि जस्ता काम गर्न भ्याएको छैन।

यी काम बाँकी रहँदै गर्दा प्रदेशको विवाद उत्कर्षमा पुगेको छ। उक्त प्रदेशमा भएको विवादका विषयमा लिखितरूपमा नै त्यहाँका नेताहरूमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।

यद्यपि उक्त पार्टीले स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ।

यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले ६ वटा महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ, ललितपुर महानगरपालिका अध्यक्षमा मञ्जरी कायस्थ र सचिव ज्ञानेन्द्र शाक्य, पोखराको अध्यक्षमा दीपक कोइराला र सचिव विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगन्जको अध्यक्षमा रहबर अन्सारी र सचिव डा. विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन हुनुभएको छ।