पीएसजीसँग रियलको सहज हार


लन्डन, (एजेन्सी)। क्लियन एमबाप्पे, एडिसन काभानी र नेयमार जस्ता स्टार खेलाडीको अनुपस्थितमा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रियल मेड्रिडलाई च्याम्पियन्स लिगमा ३–० ले हराएको छ।

समूह ‘ए’ को खेलमा पीएसजीका लागि एन्जेल डी मारियाले दुई गोल गरेपछि रियल सहजै हार स्वीकार्नुपरेको थियो। एक गोल थोमास मिउनिरले इन्जुरी समयमा गरेका थिए। योसँगै लज्जित बनेको जिनेदिन जिदानमाथि दबाब पनि परेको छ।

इडेन हाजार्डले भ्रमणकारी रियलका लागि शुरूमा राम्रो प्रदर्शन गरे। तर, रियलका पूर्वखेलाडीले नै टोलीलाई हराउन कुनै कसर छाडेनन्।

प्रतियोगितामा १ सयौं सहभागिता भएका डी मारियाले हुआन बेर्नाटको पासमा क्लोज रेन्जबाट १४औं मिनेटमा गोल गरे। ३३औं मिनेटमा उनले करिब २० यार्डबाट अर्को गोल गरेपछि पीएसजीसँग रियलको हार पक्का भएको थियो।

मिउनिरले अन्तिममा एक गोल थपेपछि रियलका लागि च्याम्पियन्स लिगको शुरूआत तीतो बन्यो।

अग्रताका बाबजुद युभेन्टस बराबरीमा

क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसले २–० को अग्रता लिए पनि अन्तमा दुई गोल बेहोरेर बराबरीमा चित्त बुझायो।

च्याम्पियन्स लिगमा युभेन्टसको जितबाट शुरूआत हुने यात्रामा एट्लेटिको मेड्रिडका हेक्टोर हेरेरा र स्टेफान साभिच बाधक बनेका थिए।

युभेन्टसका लागि हुआन कुआड्राडोले ४८औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। ६५औं मिनेटमा ब्लेज माटुइडीले अर्को गोल थपेपछि युभेन्टस २–० को अग्रतामा रहेको थियो।

जित युभेन्टसबाट टाढा पनि रहेको थिएन। तर, ७०औं मिनेटमा साभिचले ६ यार्डको नजिकबाट हेड गोल गरेर एट्लेटिकोलाई खेलमा फर्काउने आशा जगाए।

यसपछि अन्तिम मिनेटमा हेरेराले गोल गरेर एट्लेटिकोलाई हारबाट जोगाएका थिए। समूह ‘डी’ मा अर्को खेलमा लाकोमोटिभ मास्कोले जर्मनीको बायर लिभरकुसेनलाई २–१ ले हराएको थियो।

टोटनहामले पनि अग्रता जोगाएन

इंग्लिस क्लब टोटनहामले पनि २–० को अग्रता खेर फालेर ओलिम्पियाकोससँग २–२ बराबरी खेलेको छ। समूह ‘बी’ को उक्त खेलमा हेरि केनले २६औं मिनेटमा पेनाल्टीमार्फत टोटनहामलाई १–० को अग्रता दिलाए।

३०औं मिनेटमा लुकास माउराले करिब २० यार्डबाट अर्को गोल थपेर टोटनहामलाई राम्रो स्थितिमा राखेका थिए।
तर, पहिलो हाफ सकिन लाग्दा ओलम्पियाकोसले एक गोल फर्कायो।

क्यासटेलो पोडेन्सले गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाए। यसपछि ५४औं मिनेटमा प्राप्त पेनाल्टीमा अर्को गोल गरेपछि खेल २–२ बराबरीमा पुगेको थियो।

म्याथ्यु भालबुएनाले पेनाल्टी गोल सदुपयोग गरेका थिए। योसँगै गत संस्करणका फाइनलिस्ट लिभरपुल र टोटनहामले शुरूआती खेलमा जित हात पार्न सकेनन्

सिटी र बायर्नको जित

म्यानचेस्टर सिटी र बायर्न म्युनिखले भने जित हात पारेका छन्। सिटीले साख्तार डोनेट्स्कलाई र बायर्नले रेड स्टार बेल्गे्रडलाई समान ३–० ले हराएका थिए।

समूह ‘बी’ को खेलमा बायर्नका लागि कोमानले पहिलो हाफमा तथा लेवान्डोस्की र मुलरले दोस्रो हाफमा गोल गरेका थिए।

त्यस्तै समूह ‘सी’ मा सिटीलाई जित दिलाउन रियाद महरेज र इल्काए गुन्डोगानले गोल गर्दै पहिलो हाफमा २–० ले सुरक्षित स्थितिमा पुर्याएका थिए। गेब्रियल जिससले दोस्रो हाफमा एक गोल थपेका थिए।

योसँगै यस सिजनको च्याम्पियन्स लिगको शुरूआती खेल जित्नेमा सिटी एक्लो इंग्लिस टोली बनेको छ। यसअघि लिभरपुल र चेल्सी पराजित भए भने टोटनहाम बराबरीमा रोकिएको थियो।