२०२३ को विश्वकप नखेल्ने पारस खड्काकाे संकेत


न्युज अफ नेपाल, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले २०२३ को विश्वकप खेल्ने संभावना कम रहेको बताएका छन् ।

सिंगापुर र ओमान जाने टोलीको घोषणा कार्यक्रममा कप्तान पारसले फिटनेसका कारण भन्दै यस्तो बताएका हुन ।

उनले भने, “मेरो अहिलेको फिटनेसको अवस्था हेर्दा २०२३ को विश्वकपसम्म टीममा रहने संभावना कम देख्छु ।”

कप्तान खड्काले रहरले मात्रै नहुने बताए । “अबको एक वर्ष कस्ता रहन्छ, त्यसैमा मेरो क्रिकेट करिअर भर पर्छ”, उनले भने ।

आफू धेरै समय राष्ट्रिय टीममा नरहने भएकाले युवा खेलाडीलाई ग्रुम गरेर जिम्मेवार बनाउन लागेको पनि कप्तान खड्काले बताए । टीममा नरहे पनि क्रिकेटमै सक्रिय रहने कप्तान खड्काले बताए ।

सिंगापुर र ओमानमा हुने क्रिकेट टीममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, भरपर्दा ब्याट्म्यान शरद भेषवाकर र अनुभव बलर बसन्त रेग्मी परेनन् भने कुशल मल्ल र सुशन भारीले डेब्यूको अवसर पाएका छन् ।