पश्चिम सेती निर्माणमा जोड


डडेल्धुरा, (नेस)।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती आयोजना निर्माण हुनसके मात्रै सुदूरपश्चिम प्रदेशमा समृद्धि हासिल हुने जिकिर गर्नुभएको छ।

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेसनको सोमबार डडेल्धुरा सदरमुकाममा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले तीनवटै तहका सरकारले सहकार्य गरेर पश्चिम सेती आयोजना निर्माण गर्न सकिने बताउनुभयो।

स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७ सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिनुभयो।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वर्षौँ बितिसकेको स्मरण गर्दै उहाँले संघीय सरकारले पश्चिम सेती निर्माण कार्यको शुरुआत गरेमा प्रदेश सरकार साथ दिन तयार रहेको बताउनुभयो।

गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गर्नुभएको थियो।

तर, प्रधानमन्त्री ओलीले दाबी गरेको सात महिना बित्दासमेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै नदेखिएपछि मुख्यमन्त्रीले सबै मिलेर बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको हो।