‘बिहीबारदेखि मौसममा सुधार’


काठमाडौं, (नेस)। मनसुन सक्रिय गराउने न्यून चापीय रेखा भारतीय भू–भागबाट नेपालतर्फ सरेपछि मुलुकभरको मौसम प्रभावित बनेको छ। साथै बंगालको खाडीबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्रिएकाले देशैभर मनसुन सक्रिय बनेको हो।

न्यून चापीय रेखा औसतस्थान (भारतको गंगानदी) बाट उत्तरदिशातर्फ सरेपछि अहिले मनसुनी गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो।

‘यससँगै स्थानीयस्तरमा विकास भएको वायुको प्रभाव र भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भेग र उत्तर प्रदेशको दक्षिणी भागमा विकास भएको अर्को न्यून चापीय प्रणालीले पनि यहाँको मौसममा प्रभाव देखिएको हो।’ –उहाँले भन्नुभयो।

यस्तै प्रभावले मुलुकको पूर्वी, मध्य र पोखरा आसपासका भेगमा मनसुनी गतिविधि केही सक्रिय हुने महाशाखाले जनाएको छ।

बिहीबारपछि भने मौसममा क्रमिक सुधार आउने बताउँदै अर्यालले भन्नुभयो– ‘बिहीबारदेखि अहिलेको जस्तो निरन्तर मौसमी प्रभाव रहने संकेत देखिएको छैन।’

तर वर्षात्को समय बाँकी भएकाले आंशिक बदलीसहित हल्का र मध्यमस्तरको वर्षा भने जारी रहने उहाँको भनाइ छ।