सभामुखले सहमति तोडेको कांग्रेसको आरोप, बैठक अवरुद्ध


नेपाल समाचारपत्र, काठमाडौं। सभामुख कृष्णबहादुर महराले सत्तापक्षका सांसदलाई शुरूमै बोल्न समय दिएपछि दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बाँके घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आइतबार दुईपटक बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो।

शीर्ष तहमा बैठक सुचारु गर्ने सहमति भए पनि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महराले अवरोधकै बीचमा सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि बैठक पुनः अवरुद्ध भएको हो।

बैठक शुरू हुनासाथ सभामुखले कांग्रेसकी सचेतक पुष्पा भुसाललाई समय उपलब्ध गराउनुभएको थियो। उहाँले बाँके घटनामा किटानी जाहेरी दिइएका बाँके खजुरा नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्ललाई पक्राउ गर्न माग गर्नुभयो।

भुसालले आफ्नो कुरा नसक्दै नेकपा बाँकेका सांसद नन्दलाल रोकायाले बीचमा उठेर प्रतिवाद गर्नुभएको थियो। सभामुख महराले रोकायालाई रोकेर भुसाललाई बोल्न दिनुपर्ने भए पनि रोकायलाई नै बोल्न दिएपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सांसद रोकायाले सीतापुर घटनाको वास्तविकता अर्कै भएको भन्दै मल्ललाई कारबाही नहुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि गर्छौं।’

रोकायाको अभिव्यक्तिले कांग्रेस सांसदले अवरोध शुरू गरेका थिए। संसद् बैठकअघि बसेको कार्यव्यवस्था समितिमा दलहरूबीच कांग्रेसले शुरूमा आफ्नो कुरा राख्ने र सभामुखको निर्देशनपछि संसद् सञ्चालन हुने सहमति भएको थियो।

तर, सभामुखले उक्त सहमतिविपरीत समय दिएपछि कांग्रेस सांसद आक्रोशित हुँदै बेल घेराउ गर्न पुगेका थिए। कांग्रेसका सांसदले अवरोध गरेपछि सभामुखले असोज १ गते बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो।