उड्न लागेको विमानमा मौरी बसेपछि…..


कोलकाता । उड्न लागेको विमानमा मौरीको झुण्ड बसेपछि यात्रीले तीन घण्टाभन्दा बढी समय सास्ती खेप्नु परेको छ ।

एयर इन्डियाको एउटा विमानमा आइतबार भारतको कोलकातास्थित विमानस्थलमा मौरीले हमला गरेको हो ।उडानका लागि रनवेमा विमान पुगिसकेपछि मौरीको झुण्ड विमानको अघिल्लो भागमा आएर बसेपछि पाइलटले उडान रोकेका थिए ।

मौरी बसेकै अवस्थामा विमान उडाउँदा इन्जिनभित्र मौरी पसेर जोखिम निम्तिन सक्ने भएपछि पाइलटले ‘एयर कन्ट्रोल रुम’मा जानकारी गराएका थिए ।उक्त विमानलाई फेरी ‘ट्याक्सी वे’ मा फिर्ता ल्याएर दमकलको सहायतामा मौरी भगाइएको बताईएको छ ।

प्राविधिकहरुले विमानको इन्जिनभित्र मौरी पसे–नपसेको जाँच गरेपछि मात्र उक्त विमान निर्धारित गन्तव्यतर्फ उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान निर्धारित समयभन्दा तीन घण्टाभन्दा बढी ढिलोगरी प्रस्थान गरेको बताइएको छ ।