ब्लुबर्ड कलेजलाई क्रिकेट उपाधि


नेपाल समाचारपत्र, काठमाडौं। ब्लुबर्ड इन्टरनेसनल कलेजले टेक्सास कलेजद्वारा आयोजित अन्तर विद्यालय कलेज क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ। फाइनल खेलमा ब्लुबर्डले ग्लेसियर इन्टरनेसनल कलेजलाई ४२ रनले हराएर उपाधि हात पारेको हो।

विजेता टोलीले ५१ हजार र उपविजेता टोलीले २५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन्। टस हारेर ब्याटिङ गरेको ब्लुबर्डले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो। ब्लुबर्डका लागि सचिन लेखकले सर्वाधिक ४५ रनको योगदान दिएका थिए।

त्यस्तै विवेक राना मगरले २९ रन बनाए। ग्लोसियरका बलरमा कैलाश भट्टराई र दिपेन्द्र बोहराले १–१ विकेट लिएका थिए।

यस्तै जाफी ब्याटिङमा ग्लोसियर कलेज ७५ रनमा समेटिएको थियो। जसमा दीपेन्द्र बोहराले सर्वाधिक ४१ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

बलिङमा ब्लुबर्डका विवेक राना र विश्व कार्कीले एक–एक विकेट हासिल गरेका थिए। फाइनल खेल र प्रतियोगिताकै उत्कृष्ट खेलाडी ब्लुबर्डका विवेक राना घोषित भएका थिए।

उनले पोखराको हवाई टिकट प्राप्त गरेका थिए। यसैगरी उत्कृष्ट ब्याट्सम्यान र बलरमा ओजस्वी कलेजका क्रमशः अभियान बस्नेत र आश्रय बस्नेत घोषित भएका थिए।

यी उत्कृष्ट तीनै जनालाई काठमाण्डु किंग्स एलेभेनले एभरेस्ट प्रिमियर लिगको दोस्रो चरणमा वाइल्ड कार्ड प्रदान गरेको छ।