भारतीय कारबाट चरेश बरामद


नेपाल समाचारपत्र, हेटौंडा।मकवानपुरका दुई स्थानबाट प्रहरीले लागूऔषध गाँजा र चरेशसहित पाँच जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटे लच्का र बिकट राक्सिराङ गाउँपालिकाबाट लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो।

हेटौंडा–१५, रातोमाटेबाट बीआर ०१ पीएफ ७९९८ नम्बर भारतीय कारमा लुकाएर लैजान लागिएको अवस्थामा तीन भारतीयलाई पक्राउ गरिएको हो। कारको अगाडि भागमा रहेको एसीमा चरेश राखेर निकासी गर्न लागिएको थियो।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको कमान्डमा खटिएको चेकिङ टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

भारततर्फ निकासी गर्न लागिएको ४ केजी ९ सय ग्राम चरेशसहित भारतको बिहार मुजफ्फरपुर जिरोमाई रोड बस्ने २८ वर्षीय शिवराज सिंह, सोही स्थानका २४ वर्षीय ज्ञानीकुमार पाशवान, भारत बिहार शिवहर तरीहानी छपरा बस्ने २४ वर्षीय राजु महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४, कालिका दोभानबाट १२ केजी ४ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर–८ बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठाउँका २१ वर्र्र्षीय दिपेश थिङलाई पक्राउ गरेको हो।

प्रहरी चौकी कान्द्राङबाट खटिएको प्रहरी सहायक निरीक्षक रंगलाल यादवसहितको गस्ती टोलीले उनीहरूलाई हिँडिरहेको अवस्थामा शंका लागेपछि सोधपुछपछि पक्राउ गरेको थियो।