मागेको धरौटी बुझाउन नसकेपछि २ जनालाई जेल चलान


वीरगञ्ज । अन्तःशुल्क स्टिकर हिनामिना गरी राजश्व छली गरेको अरोपमा वीरगञ्जमा मदिरा उद्योगका २ जना सञ्चालकलाई जेल चलान गरिएको छ ।

पक्राउ पर्नेमा उदपयपुर डिष्टिलरी प्रालिका सञ्चालक ओम प्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका सञ्चालक शम्भुशरण प्रसाद कलवार रहेका छन् ।
अन्तःशुल्क स्टिकर हिनामिना गरेको ठहरिएपछि आन्तरिक राजश्व कार्यालय पर्साले मागेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई वीरगञ्ज कारागार चलान गरिएको छ । ती डिष्टिलरीले आन्तरिक राजश्व कार्यालयबाट खरिद गरेर लेगेको अन्तःशुल्क स्टिकर मदिरा उत्पादनमा खर्च भएको जनाएको भएपनि स्थलगत रुपमा गरिएको भौतिक परीक्षण गणनामा मौज्दातमा नदेखिएको आन्तरिक कार्यालय पर्साले जनाएको छ ।
उदयपुर डिष्टिलरीले आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्म जम्मा ३६ लाख ६९ हजार ७ सय ४२ थान स्टिकर र धौलागिरी डिष्टिलरीले २०७४र७५ र ०७५र७६ सम्म ७ लाख ५४ हजार ६ सय १५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।

कार्यालय प्रमुखको आदेशले उदयपुर डिष्टिलरीका सञ्चालक ओम प्रकाशसँग २६ करोड १६ लाख ७९ लाख ८ सय ४७ रुपैयाँ र जयश्री धौलागिरीका सञ्चालक शम्भुशरणसँग ५ करोड ४८ लाख २९ लाख २ सय ५८ रुपैयाँ धरौटी माग गरिएको थियो । तर, उनीहरु दुवै जनाले धरौटी रकम बुझाउन नसकेपछि वीरगञ्ज कारागार पर्सामा थुनामा पठाईएको कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए । अन्तःशुल्क स्टिकर मदिराजन्य, सुर्तीजन्य पदार्थ लगायतमा लगाउने गरिन्छ । उद्योगले आन्तरिक राजश्व कार्यालयबाट स्टिकर खरिद गरेर लैजाने गरेका छन् ।