बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको भन्ने अभिव्यक्ति आधारहीन रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्ने प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो ।
चिनियाँ नेशनल नारकोटिक कन्ट्रोल कमिसनका एक उच्च अधिकारीले भने, “चीनमा गत मे १ देखि फेन्टानिल उत्पादन तथा बिक्री भएका रिपोर्टहरू प्राप्त भएका छैनन् ।”
“चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ ।”
आयोगका उप निर्देशक लिउ युचिनले आज गरेको पत्रकार सम्मेलनमा भन्नुभयो, “चीन र अमेरिकाका औषधि उत्पादन तथा विक्री नियमनकारी संस्थाहरूले विगत केही बर्षदेखि नशालु औषधिको उत्पादन र विक्री नियन्त्रणमा सहकार्य गर्दै आएका छन् । तर उनीहरूले मेपछि कहिल्यै फेन्टानिल र यस किसिमका औषधिबारे कुनै अनुसन्धानमा सम्लग्न हुनुपरेको छैन ।”
चिनियाँ पक्षले सन् २०१२ पछि अमेरिकी औषधि उत्पादन तथा नियमनकारी संस्थाबाट पार्सलमार्फत पठाइएका ३८३ चक्की फेन्टानिलका बारेमा आफूलाई जानकारी भएको बताएकोे छ भने अमेरिकी पक्षल यस समयमा मात्रै छ वटा सङ्केतबारे जानकारी भएको उल्लेख गरेको छ ।
गैर–कानूनी मानिएका नशालु औषधि उत्पादन र विक्री नियन्त्रणमा चीनले दृढ तथा कडा नीति लिएको छ, लिउले भन्नुभयो । चीनले यस सम्बन्धमा पनि अमेरिकालगायत अन्य मुलुकसँगको सहकार्यलाई सशक्त बनाउन तयार छ । कुनै आधारहरू भेटिएमा संयुक्तरूपमा अनुसन्धान गर्न चीन तयार छ, उहाँले बताउनुभयो ।
रासस÷सिन्ह्वा
प्रतिक्रिया