जीप दुर्घटना, चालकसहित ४ घाइते


म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् । रघुगंगा हाईड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मौवाफाँटदेखि पिप्लेतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा परेर जीपका चालक मंगला गाउँपालिका–५, अर्मन म्याग्दीका २४ वर्षीय ओमबहादुर पुन, आयोजनाका इन्जिनियर काठमाडौं महानगरपालिका–२४ का ३० वर्षीय शैलेस शाक्य, रामेछाप सुनपाती–४ बेथानेका २४ वर्षीय डिसम घिसिङ र रुपन्देही बुटवलका ४७ वर्षीय बुद्धिसागर न्यौपाने घाइते भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
घाइतेहरुको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात् तीनजना चालक पुन, इन्जिनियर शाक्य र न्यौपानेलाई एअर डाईनेष्टिकको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल पु¥याइएको छ । यसैगरी घाइते सिभिल इन्जिनियर डिसम घिसिङ भने बेनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो ।
जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा परेपछि घाइतेको स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरेका थिए । दुर्घटनाका विषयमा भने अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।