प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैनः नेता पौडेल

0
Shares

बैतडी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले कुनै नयाँ कामको शुरुआत गर्ना नसकेको बताउनुभयो ।

“सरकारले झुटो आश्वासन मात्रै बाँड्ने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ।” वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गर्न लागेको नेता पौडेलको आरोप थियो । उहाँले भन्नुभयो, “सुन काण्ड, बालुवाटारकाण्ड, वाइड बडी, मेलम्ची, बूढीगण्डकीलगायतमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।”

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन । यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसको घाँटी निमोठ्ने दाउमा लागेको छ । मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको उहाँको आरोप थियो । नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु संविधानविपरीत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सञ्चालन बाहिरबाट गर्नसक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार संविधान कुल्चिँदै अघि बढेको छ ।”

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब काङ्ग्रेस एकढिक्का भएर अघि बढ्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी एकढिक्का भएर अघि बढ्छौँ । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ ।”
नेता पौडेल कार्यकर्तासँग भेटघाट र गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’मा सहभागी हुन यहाँ आउनुभएको हो ।

पार्टी प्रवेश गर्नेलाई पौडेलद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेलाई काङ्ग्रेस केन्द्रीय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गर्नुभएको छ । सतारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवम दलित मुक्ति मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार, नारायणसिंह मार्कण्डेय, धनीराम चुनारा, सरस्वती टमाटा, वकिल बोहरा, नमराज बोहरालगायत आज काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, पार्टी उपसभापति एवम गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्द, पार्टी सचिवद्वय प्रेम चन्द र वीरबहादुर विष्टलगायतको उपस्थिति थियो । रासस