सागका लागि कराँते खेलाडी छनोट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि कराँते खेलाडीको अन्तिम छनोट भएको छ । बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगितामा पुरुषमा १८ र महिलामा १४ गरी ३२ खेलाडी छनोट भए । पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए । श्रेष्ठले नेपाल आर्मीका परशुराम बाँस्तोलालाई हराएका हुन् ।

यस्तै सोही स्पर्धाको महिला विधामा प्रहरीकी चन्चला दनुवार पनि छनोट भइन् । चन्चलाले एनआरएनकी शुभद्रा श्रेष्ठलाई पछाडि पारेकी हुन् । टिम कातामा प्रहरीका मण्डेकाजी र महसुस तामाङ तथा आर्मीका प्रवीण मानन्धर छानिए । उक्त विधाको महिलातर्फ प्रहरीका निर्मला तामाङ र सरु कार्की तथा आर्मीकी संगीता मगर छनोट भएका छन् ।

यसैगरी पुरुष ५० केजीतर्फ प्रहरीका सोनाम लामा, ५५ केजीमा एपीएफका लक्ष्मण तामाङ, ६० केजीमा प्रहरीका राजीव पुडासैनी, ६७ केजीमा प्रदेश ४ का नवीन रसाइली, ७५ केजीमा प्रहरीका गंगाराम कुसवार, ८४ केजी प्रहरीका दिवस श्रेष्ठ र ८४ केजीमाथि प्रदेश ३ का विप्लवलाल श्रेष्ठले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराएर तौल समूहमा छनोट भएका छन् ।

महिलातर्फ ४५ केजीमा आर्मीकी कुसुम खड्का, ५० केजीमा एपीएफकी अनु अधिकारी, ५५ केजीमा एपीएफकी मनीषा चौधरी, ६१ केजीमा प्रदेश ४ की अनु गुरुङ, ६८ केजीमा प्रहरीकी सुनीा महर्जन र ६८ केजीमाथि प्रहरीकी अनुपमा मगर छनोट भएका छन् ।