साफ यु-१५ मा बंगलादेश हारेपछि नेपाल फाइनलमा

0
Shares

तस्वीरः एन्फा

नेपाल समाचारपत्र, काठमाडौं ।
बंगलादेश हारेपछि नेपाल भारतमा जारी साफ यु-१५ फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । बिहीबार भएको राउन्ड रोविन लिगको नतिजा नेपालले सोचे झै भयो । नेपालले पहिले भुटानलाई ६–० गोलको भारी अन्तरले हराएको थियो । त्यसपछिको खेलमा आयोजक भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो ।

यो नेपालको पक्षमा गएको नतिजासँगै भारत र नेपाल शीर्ष दुई टोली हुँदै फाइनलमा पुगेका हुन् । बंगलादेश भने नेपाल र भारतसँग हार्दै उपाधि रक्षा गर्ने लक्ष्यबाट टाढिएको थियो । फाइनल खेल शनिबार कल्याणी रंगशालामा हुँदैछ । भुटानविरुद्धको जितमा नेपालका लागि प्रदीप लम्सालले २ तथा अशिम राई, निराजन खत्री, क्रिस सापकोटा र सुगम जिम्मीले एक–एक गोल गरेका थिए । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० ले हारेको थियो ।

पहिलो हारको बावजुद नेपाली युवा टोलीले शानदार पुनरागमन ग¥यो । नेपालले भुटानलाई हराउन अगाडि श्रीलंकालाई २–०, र बंगलादेशलाई ४–१ ले हराएको थियो । नेपाली युवा टोलीले उक्त यो प्रतियोगितामा तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि दुई पटक फाइनल पुगे पनि नेपालले उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ को प्रतियोगितामा नेपाल फाइनलमा भारतसँगै हारेको थियो ।