नायब सुब्बा र लेखापढी अख्तीयारको फन्दामा

0
Shares

काठमाडौं । मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा र लेखापढी अख्तीयारको फन्दामा परेका छन् । फन्दामा पर्नेमा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला रहेका छन ।

कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोगमा मुद्दा चलाइएको हो। निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको बताइएको छ ।

यसैगरी मावि रझेना घोराही दाङमा कार्यरत शिक्षक गणेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिप्लोमा इन सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै शिक्षक केसीले विद्यार्थीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै नगराइन नगरपालिका, धनुषाका सब इञ्जिनीयर उमेश मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न योजनाको कार्य सम्पन्न भई रकम भुक्तानी लिन सहज गराइदिने बहानामा सेवाग्राहीसँग मण्डलले रु ५५ हजार घुस लिएको अभियोग लागेको छ ।