करणी र बैंकिङ कसुर मुद्दामा फरार २ पक्राउ

0
Shares

काठमाडौँ । जवरजस्ती करणी र बैंकिङ कसुर मुद्दाहरुमा फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहराका २८ वर्षीय सुमन खड्का र तारकेश्वरका ५५ वर्षीय प्रभात विक्रम थापा रहेकाछन् ।
खड्कालाई जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले २०७१ असोज १० गते ४ वर्ष ५ महिना १ दिन कैद हुने ठहर गरेपछि उनी फरार थिए । खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको जनाएको छ । उनले १५ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा देखाइ पटकपटक करणी गरेको मुद्दामा उच्च अदालत पाटनलले दोषी ठहर गरेको थियो ।उनलाइ सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले भने सफाइ दिएको थियो ।

त्यस्तै, थापालाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७५ चैत ४ गते ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो । सजाय वेरुजु राखी फरार रहेका थापा सोमबार गल्कोपाखाबाट पक्राउ परेकाछन् ।थापाले जाहेरवाला अर्जुन तामाङलाई पर्याप्त रकम नभएको सिभिल बैंकको खाताबाट भुक्तानी हुने गरी ८ लाख ५० हजारको चेक दिएको तर भुक्तानी नपाएपछि मुद्दा चलाइएको थियो ।