रवि छुटेपनि कार्यक्रम चलाउन नपाउने

0
Shares

काठमाडौँ ।
पत्रकार शालिकराम पुडाशैनी आत्महत्याको प्रकरणमा पक्राउ परि ५ लाख धरौटीमा छुटेका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अव देश बाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने भएको छ । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई यो विषयसँगै अरू यस्ता विषयमा कुनै पनि कार्यक्रम सञ्चालन र प्रशारण गर्न रोक लगाएको छ ।

रवि र युवराजलाई देश बाहिर जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने र पुडाशैनी आत्महत्या प्रकरणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम देखाउन नमिल्ने आदेशमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रवि सहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुने भएका छन् । यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।