चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ ।
जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेका बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप शुरु भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको बताएका छन् । उनका अनुसार निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका ट्रक र मोटरसाइकलमा क्षति पुर्याएपछि प्रतिवाद गर्दा झडप भएको हो
। प्रहरीले झडपका क्रममा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।
विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने प्रहरीले घोषणा गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यस्तो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।











प्रतिक्रिया