प्युठान, (नेस)। प्यूठान नगरपालिकाले नगरबासीको गुनासो सुन्न पैसा नलाग्ने टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ। जनताका गुनासा तथा समस्या तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर शुरू गरिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो।
‘नगरपालिकाको सेवा प्रवाहका बारेमा सर्वसाधारणले टोल फ्री नम्बरमा फोन गरी आफ्ना समस्या, गुनासा, सल्लाह र सुझावलाई राख्न सक्नुहुन्छ।’ उहाँले भन्नुभयो–‘आएका जिज्ञासाको पनि समयमा सम्बोधन र सुनुवाई गरिने छ। आफू र कार्यालयमा सिधै आफ्ना गुनासा राख्न नसक्ने सेवाग्राहीलाई यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ–’मेयर कक्षपतिले भन्नुभयो।
जनताले नगरपालिकासँग सम्बन्धित कुनै पनि गुनासो या समस्या भए पैसा नलाग्ने टोल फ्री नम्बर १६६०८६४२०९० मा फोन गरी आफ्ना समस्या राख्न सक्नेछन्। नागरिकका सुझाब तथा गुनासो रेकर्ड हुनेछ।
ती गुनासो सुनेर तत्काल सम्बोधन गर्ने मेयर कक्षपतिको भनाइ छ। ‘कार्यपालिकाको बैठकमा रेकर्ड भएका गुनासा सुनाउछु’ उहाँले भन्नुभयो –‘कर्मचारी तथा जनप्रतिनिधिसँग छलफल गरेर गुनासो बारे पहलकदमी लिन र कर्मचारीको कमजोरी भए पनि सच्याउन निर्देशन दिन्छु।
हामी जनप्रतिनिधिले नै गलत गरेका रहेछौं भनेपनि गुनासोका आधारमा सच्चिने मौका पाउछौं।’ जनप्रतिनिधि तथा कर्मचारीलाई जनताप्रति जवाफदेही बनाउन पनि यो सेवा शुरू गरिएको हो। ९ स्थानीय तह मध्ये प्यूठान नगरपालिकाले जिल्लामै पहिलो पटक नयाँअभ्यासका रूपमा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो।











प्रतिक्रिया