सरिता चलाउने, सल्यान। सल्यानमा पछिल्लो समयमा सल्यानी खुकुरीको माग अत्याधिक बढ्न थालेपछि समस्या उत्पन्न भएको छ। पहिचानका रुपमा रहेको सल्यानी खुकुरी जिल्ला छोडेर जानेका लागि उपहारको रोजाइ बनेको छ।
खुकुरीको माग बढ्दै गए पनि जनशक्तिको अभाव हुँदा मागअनुसारको खुकुरी निर्माण भने हुन सकेको छ्रैन। जिल्लाको शारदा नगरपालिका–२ को विश्वकर्मा टोलमा १० परिवारमध्ये ६ परिवारले खुकुरी बनाउँदै आइरहेका छन्।
६ विश्वकर्मा परिवारलाई हरेक दिन खुकुरी बनाउन भ्याइनभ्याइ हुने गरेको छ। पछिल्लो समयमा खुकुरी बनाउने काममा युवापुस्ता भने संलग्न नहुँदा पेसा संकटमा पर्न थालेको स्थानीय जुद्धवीर विश्वकर्माले बताउनुभयो।
उहाँका अनुसार पहिले १० घरले खुकुरी बनाउँदै आएको भए पनि बिस्तारै खुकुरी बनाउने संख्या घटिरहेका छन्। उहाँले भन्नुभयो– ‘खुकुरी निर्माण गर्ने जनशक्ति अभाव, कोइलाको अभाव हुदाँमागअनुसार खुकुरी बनाउन सकिएको छ्रैन।’
पहिलेपहिले सबैले खुकुरी बनाउने पेसामा आबद्ध भए पनि अहिले सबैले पेसा छोडेर बसाइँसर्न थालेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बजारमा खुकरीको माग भएअनुसार पुर्याउन सकिएको छैन, अहिलेका युवा पनि चासो देखाउँदैनन्, कोइला पनि पाइँदैन, खुकुरी निर्माण गर्न सके आम्दानीको राम्रो स्रोत छ।’
खुकुरी निर्माण गरेर महिनामा १५ देखि २० हजारसम्म कमाउने गरेको विश्वकर्माको भनाइ छ। अहिले सल्यानी, सिरुपाते, ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षत्रीलगायत नामका खुकुरी बनाउने अर्का स्थानीय विष्णु विश्वकर्माले बताउनुभयो।
खुकुरी, उपहारस्वरुप विदेशसम्म जाने भए पनि मागअनुसार उत्पादन गर्न नसकेको उहाँको दुखेसो छ। अधिक परिश्रम गर्नुपर्ने, जनशक्ति बढी चाहिने र कोइलाको अत्यधिक प्रयोग हुने भएकाले परम्परागत आरन व्यवसाय संकटमा पर्दै आएको छ।
आफूहरूले निर्माण गरेका सल्यानी खुकुरी जिल्ला बाहिर र देश बाहिरसमेत जाने गरेको उहाँले बताउनुभयो।











प्रतिक्रिया