डोटी, (नेस)। डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखाको कार्यालयले घरभाडा बापतको रकम नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ। उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महिनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि आक्रोसित समूहले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि स्थानीयले तालाबन्दी गरेका हुन्, रकम दिए ताला खुल्छ।’वडा अध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महिना घरभाडाबापतको रकम दिँदै आएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो– ‘घरभाडाको रकम प्रत्येक महिना दिएकै छौँ,कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले बुझेको छैन।’ वडा कार्यालयमा तालाबन्दी गरिएपछि आइतबार दिनभरि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन्।
उक्त वडा कार्यालयको भाडाबापतको मासिक रमक कर कट्टीबाहेक ५ हजार २ सय रहेको बताइएको छ।











प्रतिक्रिया