‘सेना र प्रहरी’ रातभर इनारको खाडलमा

0
Shares

मोतीराम तिमल्सिनाल, काभ्रे । इनार खन्दै गर्दा माटोको ढिस्कोले पुरिएका युुवालाई निकाल्न नेपाली सेनाको विष्णु दल गण र नेपाल प्रहरीको टोली रातभर इनारभित्र पसेको छ। विष्णु दल गणको टोलीले इनारमा खसेका युवालाई ५ घण्टाको लगातारको प्रयासपछि राति २.४५ बजे शव निकालेको थियो ।

बनेपा नगरपालिका– ९ नयाँवस्तीमा राजविराजका प्रदिप यादवको घर निर्माण गर्न इनार खन्ने क्रममा सुनसरीको बदी गाउँपालिका २ घर भई हाल बनेपा–९ नयाँवस्ती बस्ने सञ्जय यादव माटोको ढिस्को खसेर पुरिएका थिए।

शनिबार साँझ ६.४५ बजे माटोको इनारमा रिङ राख्दाराख्दै माटोको ढिस्को खसेको थियो। यादवको घरका लागि ४० फिट गहिरो इनार खनिएको थियो। इनार खनेर माटो साइडमा राखिएकाले ढिस्को खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निराजन भट्टराईका अनुसार सुरक्षा नअपनाउँदा यादव माटोको ढिस्को खसेर पुरिएको बताउनुभयो। माटोको ढिस्को खसेलगत्तै शुरुमा रिङ राख्ने उनकै साथीहरूले उनलाई निकाल्ने प्रयास गरे। प्रहरीलाई खबर गरे।

प्रहरी र स्थानीय कसैले पनि इनारभित्रको माटो पन्छाएर यादवलाई निकाल्न नसकेपछि राति ८.४५ बजे देखि नेपाली सेनाको विष्णु दल गणको टोलीले उद्धारको कार्य शुरु गरेको विष्णु दल गणका गणपति प्रमुख सेनानी सुवास खड्काले जानकारी दिनुभयो।

विष्णु दल गणका सहसेनानी सरोज पुडासैनीको कमान्डमा उद्धारका लागि उद्धारका सामाग्रीसहित उक्त स्थानमा खटिएको थियो। टोलीले इनारमा भरिएको माटो पन्छाई पुरिएको शव झिकी प्रहरीलाई बुझाएको गणपति सुवास खड्काले जानकारी दिनुभयो।

रातभर ५ घण्टा इनारभित्र पसी सेनाको टोलीले शव निकालेको थियो। प्रहरी र सेनाको टोलीले घटनाबाट शव निकालेपछि पोस्टमार्टमका लागि शिर मेमोरियल अस्पताल पठाएको हो। मृतकका आफन्तले शव बुझेर लगेको प्रहरीले जानकारी दिएको छ।

विपद्मा नेपाली सेनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जोखिम मोलेर सर्वसाधारणको उद्धारमा सहभागिता जनाउँदै आएको छ।