गौरामय बन्यो सुदूरपश्चिम

0
Shares

विमल विष्ट, डोटी ।दूरपश्चिम प्रदेश अहिले गौरामय भएको छ। सुदूरपश्चिमेलीको पर्व गौराको रौनकता समग्र सुदूरपश्चिममा दिनानुदिन बढ्दै गएको छ। गौरा पर्वको अवसरमा यहाँका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा स्थानीयको चहलपहल बढेको छ भने गाउँघरमा गौरा भित्याएसँगै गौरा सम्बन्धी खेल तथा सुदूरपश्चिमको प्रसिद्ध खेल देउडा प्रतियोगिता भइरहेका छन्।

यहाँका गाउँघरमा गौराकोे रौनकता बढ्नुका साथै स्थानीय गौरा सम्बन्धी देउडा खेल खेल्नमा व्यस्त हुनेगरेका छन्। गौरा पर्वका लागि परदेशमा रहेका डोटेली पनि आ–आफनो घर फर्किएकाले गाउँको रौनकता झन् बढेको जोरायल गाउँपालिका–३ की स्थानीय तथा सामाजिक परिचालिका लक्ष्मी ओलीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘काम विषेशले घरबाहिर रहेका तथा धन कमाउन परदेश गएका पनि अहिले घर फर्किएका छन्, गाउँमा चहलपहल दशंै भन्दा कम छैन्।’घर धन्दामा मात्र व्यस्त देखिने सुदूरपश्चिमका अधिकांश गृहिणी महिलालाई गौरा पर्वले फूर्सदिलो बनाएको डोटी गोगन पानीकी स्थानीय पवित्रा खत्रीले बताउनुभयो।

उहाँले भन्नुभयो–‘सधै घरकै काममा मात्र व्यस्त हुने यहाँका महिलाहरू गौरा पर्व शुरू भएपछि फूर्सदिला भएका छन्, बिहान काम गर्छन र साँझ गौरा खेलको डेउडा खेल्न व्यस्त हुन्छन्।’ गौरा खेल तथा डेउडा खेलमा महिला सहभागिता बढी रहने गरेको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीय घनश्याम पाठकले बताउनुभयो।

उहाँले भन्नुभयो–‘करिब–करिब वर्षभरी काममा व्यस्त रहने यहाँका महिला अहिले फूर्सदिला भएका छन्।’ गौरा पर्वका बेला पुराना धार्मिक क्रियाकलाप, देवीदेवताका लीला तथा राजा रजौटाका घटनामा आधारित कथालाई गीतका माध्यमबाट डेउडा खेलिने गरिएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष तथा गितारु (गौरा सम्बन्धी गीत हाल्ने) ध्वजबहादुर देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो–‘गौरामा बितेका कालका घटनामा आधारित घटनालाई गीत बनाई डेउडा खेलिने भएकाले यसको महत्व र खेलको रौचक अर्कै हुन्छ।’ बजारमा हुने आधुनिक किसिमका डेउडा खेल तथा नाचले सुदूरपश्चिमको गौरा पर्वको मौलिकता बिस्तारै हराउँदै गएको बुढापाकाको गुनासो रहेको छ।