चिरञ्जीवी मास्के, हेटौडा।नेपाली सेनाले पछिल्ला दिनमा आफ्ना गतिविधि सर्वसाधारणसम्म पुर्याउन र नागरिक सैनिक सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ। सोही क्रममा सेनाले पत्रकारकालागि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
नेपाली सेनाको मध्य पृतना हेटौंडाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको आइतबार उद्घाटन गर्नुहँुदै पृतनापति उपरथी ताराध्वज पाण्डेले सैनिक संगठनले गर्ने गतिविधिलाई आम जनतासम्म पुर्याउन पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उपरथी पाण्डेले नेपाली सेनाको कतिपय प्राविधिक, संरचनागत र नीतिगत विषयका बारेमा पत्रकारलाई जानकारी नहँुदा समाचार संकलन तथा लेखनमा समस्या हुने महसुस गरी नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएकोे बताउनुभयो।
पृतनापति उपरथी पाण्डेले यस्ता अभिमुखीकरण कार्यक्रमले नागरिक, सैनिक तथा पत्रकारबीचको सम्बन्ध जीवन्त रहने र सेनाबाट भएका गतिविधिको विषयमा आमरूपमा गलत अफवाह वा धारणा बन्न नसक्ने बताउनुभयो।
नेपाली सेनाको मध्य पृतनाले जन सम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा ३ नम्बर प्रदेशको चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, धादिङ, नुवाकोट र रसुवाका १४ जना पत्रकारको सहभागिता रहेको छ।
पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाले गरेको गतिविधि, सेनाको संरचना, नीति नियम, सेनाले सञ्चालन गरेको राष्ट्रिय महत्वका आयोजनाको अवस्थालगायतका विषयमा छलफल तथा अन्तक्रिया हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्माले बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा पहिलो दिन आइतबार रक्षा मन्त्रालय तथा राष्ट्रिय सुरक्षा नीति सम्बन्धमा रक्षा मन्त्रालयका उपसचिव मनोज आचार्य, पृतना हेडक्वाटरको जिम्मेवारी र नागरिक सैनिक सम्बन्धलाई थप मजबुद बनाउन भएका कार्यहरूको विषयमा पृतना हेडक्वाटरका प्रमुख सेनानी अनिल उपाध्याय, संघीय संरचनामा नेपाली सेनाको तैनाथी सम्बन्धी जानकारी विषयमा युद्धकार्य निर्देशनालयका प्रमुख सेनानी सरोज अधिकारी, नागरिक सैनिक सम्बन्ध, आवश्यकता र चुनौती विषयमा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, नागरिक सैनिक सम्बन्धमा जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका तथा महत्व विषयमा निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्मा र राष्ट्रिय सेवा दल सम्बन्धमा मध्य तालिम शिक्षालय हात्तिसारका शिक्षक अधिकृत सेनानी लक्ष्मण थापाले जानकारी गराउनुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा ३ दिनसम्म नीतिगत तथा जानकारीमूलक विषयमा छलफल हुने र २ दिन नेपाली सेनाले गरेका कामको विषयमा स्थलगत अवलोकन गरिने कार्यक्रम रहेको मध्य पृतनाले जनाएको छ।











प्रतिक्रिया