नेपाल समाचारपत्र, गोरखा।गोरखाको चुमनुब्री गाउँपालिकाका कर्मचारीले वडामा सञ्चालित विकासका कार्यक्रमबाट विभिन्न बहाना बनाएर रकºम असुल गरेको गुनासो बढ्न थालेको छ।
लेखा परीक्षण गर्ने, भ्याट बिल बनाउनेलगायतका बहानामा कर्मचारीले १ देखि २ प्रतिशतसम्म रकम असुल गरेको वडा अध्यक्षले जानकारी दिए।
आर्थिक वर्ष २०७५/२०७६ मा ७ वटा वडामा ८ करोड ५२ लाखº ७८ हजार रुपियाँविनियोजन भएको थियो। सोही रकमबाट बहानाबाजी गरी कर्मचारीले पैसा असुल गरेको उपभोक्ता समितिका पदाधिकारी बताउँछन्।
‘भ्याट बिल बनाउन खर्च चाहिन्छ भन्दै सचिवले पैसा माग्नुभयो। हामीले सबै उपभोक्ता समितिसँग उठाएर दियौं’, वडा नं. ६का अध्यक्ष लोप्साङ लामाले भन्नुभयो–‘अरु वडाका सबैले दिइसक्नुभयो भनेपछि हामीले पनि १ लाख ८ हजार रुपियाँदिएको हो।’ असार मसान्तमा बिल भर्पाइ फछ्र्यौट गर्ने मौका मिलाएर कर्मचारीले सो रकम असुल गरेको उहाँको भनाइ छ।
वडा नं. ७ छेकम्पारले पनि १ लाख ८० हजार रुपियाँदिएको जनाएको छ। लेखा परीक्षक (अडिटर) लाई दिनुपर्छ भनेर सचिवले मागेपछि सो रकम दिएको वडा कार्यालयले जनाएको छ।
वडा नं. ४ प्रोकका उपभोक्ताले पनि माग गरेजति रकम सचिवलाई दिइसकेको जनाएका छन्। तर एकमुष्ट कति गयो भन्ने बारे आफूलाई जानकारी नभएको एक उपभोक्ता समितिका अध्यक्षले जानकारी दिए।
वडा नं. १ मा पनि २ प्रतिशत दिनुपर्छ भनेर सचिवले भनेका तर आफूले नदिएको वडा अध्यक्ष वीरबहादुर लामा बताउनुहुन्छ । ‘अडिट गर्ने खर्च उपभोक्ता समितिसँग उठाएर हामीलाई दिनु भनेर वडा सचिवले भनेका थिए’, वडा अध्यक्ष लामा भन्नुहुन्छ, ‘तर मैले संकलन गर्न पनि भ्याएको छैन, बुझाएको पनि छैन।’
गत आर्थिक वर्षमा चुमनुब्री गाउँपालिकाको वडा नं. १ मा १ करोड ५ लाख ८८ हजार विनियोजन भएको थियो। त्यस्तै वडा नं. २ मा १ करोड २२ लाख ७५ हजार, वडा नं. ३ मा १ करोड ७९ लाख १७ हजार ४ सय ४० रुपियाँ, वडा नं. ४ मा १ करोड ६ लाख ८५ हजार रुपियाँ, वडा नं. ५ मा १ करोड ११ लाख ८० हजार रुपियाँ, वडा नं. ६ मा १ करोड ३ लाख ८२ हजार रुपियाँर वडा नं. ७ मा १ करोड २२ लाख ५० हजार रुपियाँको योजना विनियोजन गरिएको गाउँपालिकाका सहलेखापाल मुकेश प्रजापतिले जानकारी दिनुभयो।
यस विषयमा जिज्ञासा राख्दा गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले आफूलाई जानकारी नभएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले पनि कर्मचारीले रकम असुल गरेको अस्वीकार गर्दै यसबारे आफूलाई कुनै जानकारी नभएको दाबी गर्नुभयो।











प्रतिक्रिया