जनप्रतिनिधि आफैले लिए कुखुरा

0
Shares

बासुदेव शर्मा, जाजरकोट। जाजरकोट भेरी नगरपालिका–१ का जनप्रतिनिधिले गरिबका लागि वितरण गर्न खरिद गरेका कुखुरा आफू र आफू निकटका व्यक्तिलाई दिएको छ। विपन्न परिवारका युवालाई कुखुरा पालन व्यवसायमा लगाइ आय–आर्जन गर्न खरिद गरेका कुखुरा वडा पालिकाका पदाधिकारी र उनीहरूका नजिकका नातेदारले लिएका छन्।

गत आर्थिक वर्षको आयआर्जन कार्यक्रम सञ्चालनका लागि भेरी नगरपालिकाको कृषि शाखाबाट ३ लाख र पशु विकास शाखाबाट ३ लाख गरी जम्मा ६ लाख रुपियाँविनियोजन गरिएको उक्त रकमबाट काठमाडांैको महर्जन ह्याचरीबाट स्थानीय जातका ३ हजार ९ सय कुखुरा खरिद गरेर ल्याइएको थियो।

लोकल जातका कुखुरा जनप्रतिनिधिले आफ्नै मनोमानीले निकटका व्यक्तिलाई वितरण गरेपछि स्थानीयले विरोध गरेका छन्। किसानलाई वितरण गर्न खरिद गरेका कुखुरा वडा अध्यक्ष,वडा सदस्य र वडा सचिवले लिएका छन्।

वडा अध्यक्ष दीपक रानाले ६०, वडा सदस्य कृष्णराज विक, बिमला विक, बिमला बस्नेत, चन्द्रबहादुर पुन र कार्यपालिका सदस्य वीरबहादुर वादी, वडा सचिव महेन्द्र बस्नेतले ५०–५० वटाका दरले कुखुरा लिएको स्थानीय दलबहादुर खत्रीले बताउनुभयो।

व्यवसायिक कृषक छनोट नगरी जनप्रतिनिधिले नातेदार छानेर कुखुरा दिएको पाइएको छ। वडा सदस्य बिमला विकले देवर सिर्जन विक र भाइ मिलन विकलाई सिफारिस गरी २ सय, वडा सदस्य कृष्णराज विकले साला नाता पर्ने तप्त विकलाई सिफारिस गरेर २ सय, वडा सदस्य बिमला बस्नेतले आफ्नै  भाइ बिमल बस्नेत, भाइका जेठान हरिबहादुर खत्रीलाई सिफारिस गरेर २ सय कुखुरा निशुल्क दिलाएका छन्।

 

वडापालिकाले छनोट गरेर कुखुरा वितरण गरेका १९ जना व्यवसायी जनप्रतिनिधि निकटका रहेका छन्।

पूर्व वडानागरिक मञ्चका संयोजक मधुकर वादीलाई ५० वटा कुखुरा दिएको तर उहाँले अन्य व्यक्तिलाई प्रति कुखुरा १ सयका दरले बिक्री गरेको खत्रीले बताउनुभयो तर मधुकरले आफूले बिक्री नगरेको दावी गर्नुभयो।

वडापालिकाले छनोट गरेर कुखुरा वितरण गरेका १९ जना व्यवसायी जनप्रतिनिधि निकटका रहेका छन्। विपन्नलाई नदिएर आफू र आफू निकटकालाई दिएकाले स्थानीयले विरोध गरेका छन्। जुन व्यवस्था आएपनि टाठाबाठा र साहुकै हालीमुहाली चल्ने रहेछ गरिब र विपन्नका लागि कहिल्यै दिन आउँदा रहेनछन् स्थानीय पुतला नेपालीले बताउनुभयो।

स्थानीय धर्मराज परियारले विपन्न वर्गको आयआर्जनका लागि दिनुपर्ने कुखुरा जनप्रतिनिधिले लिँदा राम्रो नभएको बताउँदै यस्ता जनप्रतिनिधिबाट जनताले के अपेक्षा गर्नु भन्दै दुखेसो पोख्नुभयो।

वडा अध्यक्ष दीपक रानाले गरिब व्यवसाय छनोट गर्दा खोर बनाउन नसक्ने व्यवसाय नगरेको विगतको तीतो यथार्थलाई मध्यनजर गर्दै व्यवसायिकरूपमा कुखुरा पालनगर्ने जो कोही व्यवसाय छनोट गरी २ सयका दरले कुखुरा वितरण गरेको बताउनुभयो।