कविराज नेपाल, पाल्पा। केही वर्षयता आकाशबाट पानी पनि कम परेको र निर्माण कार्य गर्दा सिमेन्ट र पिच गर्ने प्रवृत्तिका कारण पानी जमिनभित्र जान नपाई मुलहरू सुक्न जान थालेपछि प्राकृतिक रुपमै जमिनभित्र पानी जान पाओस् भन्ने उद्देश्यका साथ प्राकृतिक रिचार्जका लागि स्थानीय तहले पोखरी बनाउने अभियान नै थालेका छन्।
पहिले पहिले गाउँघरमा पानीको दुःख हुँदा सरसफाइ र गाईवस्तुका लागि पोखरी निर्माण गर्ने यस्तो चलन थियो। ठाउँठाउँमा पोखरी निर्माण गरी वर्षात्को पानी संकलन गर्ने र हिउँदमा त्यसलाई उपयोग गरिन्थ्यो।
पछिल्लो समय सिँचाइका लागि प्लास्टिकका पोखरी निर्माण हुने क्रम बढ्यो भने फेरि पुरानै अवस्थामा पोखरीको निर्माण हुने क्रम शुरु हुनथालेको छ। तर पछिल्लो क्रममा भने पानीलाई प्राकृतिक रुपमै जमिनभित्र लैजाने र त्यसबाट मुहानको संरक्षण गर्ने हेतुले यो कार्य पाल्पाका केही गाउँपालिका र तानसेन नगरपालिकामा शुरु भएको हो।
जमिन रिजार्ज गर्न डाँडाडाँडामा पोखरी निर्माण गर्ने र त्यसबाट पानीको मुहान संरक्षण र पानीको मात्रा बढ्ने विश्वास लिइएको छ। डाँडामा बनेको पोखरीबाट पानी रसाएर तलसम्म पुग्ने र त्यसले पानीको मूल संरक्षण हुने बताइन्छ।
केही वर्षयता आकाशबाट पानी पनि कम परेको र निर्माण कार्य गर्दा सिमेन्ट र पिच गर्ने प्रवृत्तिका कारण पानी जमिनभित्र जान नपाई मुलहरू सुक्न जान थालेपछि प्राकृतिक रुपमै जमिनभित्र पानी जान पाओस् भन्ने उद्देश्यका साथ यो कार्य गरिएको हो।
त्यसो त वि.स. २०७२ सालको भूकम्प र मानवीय कारणले पानीका मुहानहरू सुकेपछि यो कार्य गर्नुपरेको हो। यहाँका स्थानीय तहहरूले पानीको मुल संरक्षण गर्नु अत्यावश्यक भइसकेको र प्राकृतिक रिचार्ज नै प्रभावकारी हुने ठानेर पोखरी निर्माण गरेको बताएका छन्। जिल्लाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले तथा तानसेन नगरपालिकाको एउटा वडामा पानीका मुहान संरक्षण गर्न रिचार्ज पोखरीको निर्माण गरिएको हो ।
‘पोखरी निर्माण भएसँगै पशुचौपाय, चराचुरुङ्गी र जङ्गली जनावरलाई खानेपानीको व्यवस्थापन भएको छ’ रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले भन्नुभयो– ‘विकास निर्माणमा जथाभावी डोजर प्रयोगले पानीका मुल सुक्दै गएपछि मुहान बचाउनका लागि रिचार्ज पोखरी बनाउने अभियान चलाएका हौँ।’ प्रदेश सरकारसँग सहकार्य गरेर पानीका मुहाननजिक पोखरी बनाएको गाउँपालिकाले जनाएको छ।
प्रत्येक वडामा पाँच÷छ वटा पोखरी निर्माण गर्ने गरी यो वर्ष पनि रिचार्ज पोखरी बनाउने गरी बजेट विनियोजन भएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो। उहाँका अनुसार ५ नं. प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत अनुदान प्रदान गरेको छ।
गाउँपालिकाबाट पोखरी निर्माण भएसँगै पशुचौपाय, चराचुरुङ्गी र जङ्गली जनावरलाई खानेपानीको व्यवस्थापन भएको छ। पानीको मुलको संरक्षण गर्न वृक्षारोपण, घाँसका बिरुवासमेत रोपिएको छ ।
डाँडामा पोखरी निर्माण भएपछि केही मात्रामा भए पनि वर्षातको भेल रोकिएको छ जसले गर्दा प्राकृतिक रुपमै भू–क्षय रोकिएको छ। रिचार्ज पोखरी निर्माणले सुक्दै गएका पानीका मुहान फेरि पलाउने वातावरण संरक्षण र प्राकृतिक रुपमा वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाभित्र समेत पानीका मुहान संरक्षण गर्न पानीका मुहान नजिकैका डाँडामा दुई गाउँपालिकाले दुई दर्जनभन्दा भन्दा बढी पोखरी निर्माण गरेको बताएका छन्।
यस्तै तानसेन नगरपालिका–११ ले वडास्तरीय बजेटबाट रिचार्ज पोखरी निर्माण गरेको छ। तानसेन नगरपालिका–११ का वडा अध्यक्ष दामोदरप्रसाद घिमिरेले पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरेको बताउनुभयो।
दशकदेखि यहाँका स्थानीय बासिन्दाले पानी पिउँदै आएका मुहान पछिल्लो समय सुक्दै गएपछि वर्षातको पानी जम्मा हुने गरी छवटा पोखरी निर्माण गरेको घिमिरेले बताउनुभयो।











प्रतिक्रिया