ओली–नेपालको भनाभनप्रति राष्ट्रपतिको चासो, मिलेर अगाडि बढ्न प्रचण्डलाई सुझाव

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीभित्र सतहमा आएको विवादको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो राख्नुभएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शितल निवास बोलाएर यस्तो चासो राख्नुभएको हो।

पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहँदै आउनुभएका प्रचण्डसँग आइतबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले मिलेर अगाडि बढ्न सुझाव दिनुभएको थियो। अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले दुवै अध्यक्ष मिले मात्रै पार्टी सही दिशामा जाने भन्दै सहमतिमै चल्न आह्वान गर्नुभएको थियो।

राष्ट्रपति निवास शीतल निवासमा झन्डै दुई घण्टा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम बारे पनि छलफल भएको बताइएको छ। भदौ ५ गते बसेको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउने र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको थियो।

एकताको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले सो अधिकार पाए लगत्तै राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो।स्मरणीय छ, केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय बाँडफाँड र मर्यादाक्रमलाई लिएर निकै चर्काचर्की भएको थियो।

प्रचण्डद्वारा बैठक आह्वान

पार्टी एकता भएको पन्ध्र महिनापछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाउनुभएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएपछि उहाँले पहिलोपटक उहाँले सचिवालयको बैठक बोलाउनुभएको हो।

पार्टी एकताको बाँकी कामलाई पूर्णता दिनका लागि अध्यक्ष प्रचण्डले आइतबार आफ्नै निवास खुमलटारमा सचिवालयका नेताहरूसँग अनौपचारिक छलफल गर्नुभएको छ। प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठसहितका नेताहरूसँग छलफल गर्नुभएको थियो।

अध्यक्ष ओली सिंगापुर जानुअघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिने निर्णय भएको थियो। प्रचण्डले भोलि दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएको प्रचण्डको सचिवालयले बताएको छ।

बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटी र आयोगका पदाधिकारीलाई पूर्णता दिने बारेमा छलफल हुने एजेन्डा तय भएको सचिवालयले बताएको छ। प्रचण्डले पार्टीको औपचारिक बैठक अब पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउने तय गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो।