विकास समितिमा  १८ शहरको चर्चा

0
Shares

काठमाडौं, (नेस)। संघीय संसद्को विकास तथा प्रविधि समितिमा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा शहरउन्मुख गाउँको विषयमा चर्चा चलेको छ।
समितिको आइतबार बसेको बैठकमा ती गाउँलाई नयाँ व्यवस्थित शहर बनाउने सरकारको योजना कहाँ पुगेको भन्ने विषयमा छलफल हुँदा उक्त चर्चा चलेको थियो।
बैठकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलाई समेत छलफलका लागि आमन्त्रण गरिएको थियो।

छलफलका लागि सहभागी समितिका अधिकांश सदस्यहरूले मन्त्री राईलाई उक्त कार्यक्रम कहाँ र कसरी भइरहेको भन्दै प्रश्न तेस्र्याएका थिए। छलफलमा प्रभु साह, गणेश पहाडी, बहादुरसिं लामा, रामबहादुर विष्ट, रंगमति शाही, राजेन्द्र लिङ्देनलगायतले भाग लिनुभएको थियो।

समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री राईले काम गराइ ढिलो भए पनि काम नरोकिएको जवाफ दिनुभएको थियो। ‘काम छिटो गर्न कर्मचारी र बजेटको अभाव रहेको छ’, उहाँले बैठकमा भन्नुभयो– ‘तर पनि काम रोकेका छैनौँ।’

आर्थिक वर्ष २०६७/६८ देखि सरकारले मध्य–पहाडी लोकमार्गमा १० वटा र हुलाकी राजमार्गमा ८ वटा गरी १८ वटा व्यवस्थित शहर विकास गर्ने भनेर काम गरिरहे पनि यसको प्रगति कछुवाकै गतिमा छ।