११ दिनदेखि बन्दक महिलाको उद्धार

0
Shares

सर्लाही, (नेस)। परिवारले खाना लगाउन नदिएर घरमा बन्धक बनाएर राखेको एक महिलालाई सर्लाहीको ईश्वरपुर नगरपालिका– १ पोखरियाबाट उद्धार गरिएको छ। परिवारका सदस्यले यातना दिंदै घरको कोठामा बन्धक बनाएको २२ वर्षीया नुरजहाँ खातुनलाई मानव अधिकारकर्मीको टोलीले उद्धार गरेको हो।

परिवारले ११ दिनदेखि खान नदिएर कोठामा थुनेको पीडित महिलाको भनाइ रहेको छ। खातुनले रुदै भन्नुभयो– ‘मलाई कोठामा थुनेर खान नदिएको आज ११ दिन भयो, मेरो माइतीले थाहा पाउँछन् भनेर मसँग भएको एउटा मोबाइलसमेत श्रीमान्ले खोस्नुभयो, दिनरात यसरी श्रीमान् र सासुससुराको कुटाइ खाएर कति दिन बस्नु, काखमा डेढ वर्षको नानी छ खुवाउन दूध आउँदैन।’

श्रीमान् रिजवान अंसारीको कुटाइबाट पीडित खातुन बेलाबेलामा बेहोस हुने गरेको स्थानीयको भनाइ छ। खातुनसँग मुस्लिम परम्पराअनुसार तीन वर्षअघि हरिपुर्वा नगरपालिका ९ बस्तीपुरका जुमराती अंसारीको छोरी नुरजहाँ खातुनसंग बिहे गरेको थियो।

बिहेअघि रिजवान अंसारीको अर्कै केटीसंग प्रेम सम्बन्ध रहेको पीडित महिलाको भनाइ छ। साउन २८ गते बकर इद पर्वको कोसेली पुर्याउन छोरीको घरमा जाँदा छोरीलाई आफ्नोअगाडि कुटपिट गरेपछि मात्र छोरीमाथि यातना दिने गरेको थाहा पाएको माइतीको भनाइ छ।

छोरीलाई घरमा बन्धक बनाएर परिवारले यातना दिन थालेपछि माइती पक्षले न्यायका लागि मानव अधिकार सञ्जालमा पुगेका थिए। पीडित महिलालाई मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरी आफन्तको जिम्मा लगाएको मानव अधिकार सञ्जालका सर्लाही जिल्ला संयोजक मुकेश मिश्राले जानकारी दिनुभयो।