अरूलाई दोष दिएर मुलुकमा विकास हुँदैन

0
Shares

बुटवल, (नेस)। नेकपा संसदीय दलका सचेतक तथा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताउनुभएको छ।

लियो क्लब अफ तिलोत्तमाद्वारा बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले संघर्ष, त्याग, घृणा र तिरस्कारलाई सहेर जो निरन्तर अगाडि बढ्न सक्छ त्यो मान्छे मात्रै नेतृत्वमा पुग्न सक्ने बताउनुभयो।
जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई मेहनत र साहसका साथ अगाडि बढे एक दिन अवस्य सफल भइने भन्दै उहाँले जुन सुकै क्षेत्रमा पनि लगनशीलता, मेहनत र साहसको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो।

उहाँले मुलुकमा कम्लरी प्रथा अन्त्य भए पनि बर्गीय विभेद कायमै रहेकाले समस्या अझै पनि कायम रहेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधीका लागि कहीँ ठाउँ नभएको बताउनुभयो।

प्रहरी महानिरीक्षक खनालले अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीलै कुनै कसुर बाँकी नराख्ने बताउनुभयो।

कार्यक्रममा सृष्टि केसीले हाम्रो समाज नकारात्मक कुरालाई विश्वास गरिहाल्ने र सकारात्मक कुरामा शंका गर्ने प्रबृत्ति हावी रहेको भन्दै त्यस्तो प्रबृत्ति त्याग्नुपर्ने बताउनुभयो।