कालीगण्डकी सभ्यता देखाउन भूमिगत संग्रहालय

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत। धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने कालीगण्डकी नदी किनारको ‘कालीगण्डकी सभ्यता’ प्रर्दशन गर्न सुरुङभित्र भूमिगत संग्रहालय निर्माण गरिएको छ।
कालीगण्डकी किनारमा पर्ने बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा कालीगण्डकी नदीको सभ्यता देखाउन सुरुङभित्र भूमिगत संग्राहलय निर्माण गरिएको हो।
सुरुङमा उत्तरी मुस्ताङको दामोदर कुण्डदेखि दक्षिणमा नवलपरासीको त्रिवेणी मोक्ष धामसम्मको कालीगण्डकी नदी किनारको सभ्यता र शालिग्रामको महत्व देखाउने उद्देश्य राखिएको छ।

स्वामी ऋषि प्रपन्नाचार्यको परिकल्पनाअनुसार करिब चार सय मिटर लामो सुरुङ निर्माण गरिएको छ भने संग्राहलय निर्माणको काम पनि धमाधम भइरहेको छ।स्वामी प्रपन्नाचार्यका अनुसार सुरुङभित्र पसेपछि एकैथलोमा कालीगण्डकी नदी, शालिग्राम र धार्मिक महत्वका बारेमा राम्रोसँग ज्ञान लिन सकिनेछ।

त्यस्तै गरी शालिग्राम, शालिग्रामको चक्रका विषयमा गुरु श्रीधर आचार्यमा धेरै ज्ञान रहेको र उहाँको पृष्ठभूमि, उहाँले प्रकाशित गरेका लेखरचनाको राम्रोसँग अध्ययन गर्न सकिने छ। श्रीधर आचार्यबाटै प्रभावित भएर मुक्तिनाथ र ऋषि गण्डकी र शालिग्रामको महत्व, प्रचार र संरक्षणमा लागेको प्रपन्नाचार्यको भनाइ छ।

कालीगण्डकी नदीमा पाइने शालिग्राम शिला चोरी निकासी, नदीजन्य पर्दाथको जथाभावी उत्खनन्का कारणले संकटमा परेका कारण एकै ठाउँमा संरक्षण गर्न सुरुङमा एक लाख शालिग्राम राखिनेछ। यसबाहेक नेपाल, भारत, पाकिस्तानलगायत विभिन्न मुलुकमा पाइने नदीका ढुंगासमेत संरक्षण गरिनेछ।

‘हिन्दूहरूले साक्षात भगवान विष्णुको रुपमा पूजा गर्ने शालिग्राम अहिले कौडीको भरमा खरिदबिक्री भइरहेको छ’ उहाँले भन्नुभयो– ‘हामीले नक्क्ली ढुंगालाई देवता मानेर पुज्ने अवस्था आउन नदिन संरक्षण गर्न जरुरी भएको हो।’

एक वर्षको अवधिमा सुरुङ निर्माणको काम सम्पन्न भएको छ। शालिग्राम राख्नका लागि तयारी गरिएको छ। भूमिगत संग्रहालयमा भगवान विष्णुको मन्दिरसँगै ध्यानस्थल, झण्डै डेढ सय जना अट्ने हल निर्माण गरिएको छ।

उक्त हलमा बसेर अवलोकनकर्ताको शालिग्राम र कालीगण्डकी नदीको विषयवस्तुसँग सम्बन्धित फिल्म, डकुमेन्ट्री हेर्न सक्ने शालिग्राम संग्रहालय अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो। भूमिगत रुपमा बनेको यो संग्रहालय संसारकै पहिलो हुने पनि प्रपन्नाचार्यको दाबी छ।

संग्रहालयमा राख्नका लागि ठाउँ–ठाउँमा अहिले शालिग्राम संकलन गर्ने काम भइरहेको छ। सानो आकारको शालिग्रामदेखि पाँच हजार किलोसम्मका शालिग्राम यहाँ राखिने भएको छ। संग्रहालय निर्माणमा हालसम्म चार करोड लागत पुगेको छ।

सम्पन्न हुँदा छ करोडसम्म पुग्ने अनुमान अध्यक्ष प्रपन्नाचार्यको रहेको छ। हालसम्म यो संग्रहालयका लागि संघीय सरकारबाट १३ लाख, बागलुङ नगरपालिकाबाट १० लाख र गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ८० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ।

बाँकी खर्च सबै शुभेच्छुकको सहयोग र चन्दाबाटै हुनेछ। प्रदेशबाट बिनियोजन भएको रकम भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत खर्च भएको कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो।