पहिरोले सम्पर्क टुट्यो

0
Shares

धादिङ, (नेस)। केही दिनदेखिको लगातारको वर्षाले गणेश हिमाल खोलामा पहिरो आएर थुनिएपछि उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–५ नेवेर गाउँसंग अन्य गाउँको सम्पर्क विच्छेद भएको छ।

अबिरल वर्षाका कारण पहिरो आएर खोला थुनिएको छ। गाउँबासी गाउँपालिका र वडा कार्यालयसमेत आउन जान नसक्ने भएको र विकट गाउँमा मानिस हड्निे बाटो अवरुद्ध भएकाले हिमाली नेवेर गाउँ समस्यामा परेको रुबीभ्याली गाउँपालिका– ५ का वडाअध्यक्ष धिरज तामाङले बताउनुभयो ।
६५ घरधुरी रहेको गणेश हिमालको फेदीको वस्ती तामाङ समुदायको वस्तीबाट अन्य गाउँ जाने तातोपानीनजिकै पहिरो आएर खोला थुनिएको छ।  मानिस हिँड्ने बाटो बन्द भएको छ।
गाउँबाट गाउँपालिका जान लागेका बमबहादुर तामाङसमेत पहिरो पार गर्न नसकेर घर फर्किएको नेवेरका टिसमान तामाङले बताउनुभयो। गाउँमा ल्याइने खाद्यसामग्री तथा बिरामी पर्दा मानिस उपचारका लाने यही एक मात्र बाटो बन्द भएपछि गाउँवासी समस्यामा परेको वडाध्यक्ष तामाङको भनाइ छ।

जिल्ला सदरमुकामबाट ३ दिनको पैदल दूरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको वस्ती हो। आवतजावत नै बन्द भएकाले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोग उपलब्ध गराउनसमेत नसकिने अवस्थामा पुगेको छ।