१९ जनाविरुद्ध मुद्दा

0
Shares

विराटनगर, (नेस)विराटनगरमा आयोजित रथयात्राको क्रममा अपराधजन्य गतिविधिमा संलग्न १९ जनाविरुद्ध मोरङ प्रहरीले मुद्दा चलाएको छ। उनीहरूविरुद्ध चोरी, चोरीको उद्योग र अभद्र व्यवहारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुद्दा चलाइएका १९ जनामा २ भारतीय र १७ जना नेपाली रहेका छन्।रथयात्राको भीडमा अवाञ्छित र शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले १२ जना भारतीयसहित जम्मा ८४ जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएकामध्ये प्रारम्भिक अनुसन्धानपछि ६५ जना छुटेर गएका छन्। उक्त संख्याका व्यक्तिमध्ये ८ जनाले मादकपदार्थ सेवन गरेर भीडमा हुलहुज्जत, धक्कामुक्की र अभद्र व्यवहार गर्दै गरेको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो।

प्रहरीले नियन्त्रणमा लिएका शंकास्पद व्यक्तिहरूको साथबाट विभिन्न कम्पनीका मोबाईल २० थान, सुनको सिक्री ३ थान, चाँदीको बाला १ थान र एउटा घडी बरामद गर्नुका साथै १२ हजार १ सय २० रुपियाँ नेपाली र ५ सय २० भारतीय रुपियाँसमेत बरामद भएको एसपी अधिकारीले जानकारी दिनुभयो। बरामद सामानमध्ये ८ जनाले आफ्नो मोबाइल बुझेर लगेको जनाइएको छ।