सरकारले आशा मार्योः नेता केसी

0
Shares

नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थिर सरकार बने पनि नागरिकमा आशा भने जगाउन नसकेको बताउनुभएको छ ।

आज विदुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले दुई तिहाईको सरकार आएसँगै विकास निर्माणले तीव्रता पाउने नागरिकको आशा निराशामा परिणत भएको बताउनु भएकाे हाे । उहाँले अहिलेसम्मको सबैभन्दा शक्तिशाली दुई तिहाईको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्न नसकेको आरोप लगाउनुभयो । “सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता व्यवहारमा लागू गर्न सकेको छैन । भ्रष्टाचारीलाई कारवाही गर्ने आँट सरकारमा देखिएन”, उहाँले भन्नुभयो ।

स्थानीय सरकारले जनतासँग लिएको करको दुरुपयोग गरिरहेको र सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको नेता केसीको भनाइ थियो । पार्टीले प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको उहाँको भनाइ थियो । पार्टीमा दुई किसिमको धार रहेको नेता केसीले उल्लेख गर्नुभयो । “पहिलो धार यथास्थितिमै १४औँ महाधिवेशनमा जाऔँ भन्छ, अर्को धार नयाँ पुनःसंरचनासहित जानुपर्छ भन्छ”, उहाँले भन्नुभयो, “अहिलेकै नेतृत्व र अपारदर्शीताबाट जाने हो भने अरुसँग मुकाविला गर्न सकिँदैन । पार्टीमा नयाँ नेतृत्व, पद्धति र सदृढीकरणको खाँचो छ ।”     रासस