महानगरका मेयर र ढाका नर्थ सिटी कर्पोरेसनका मेयरबिच भेट

0
Shares

काठमाडौँ । बंगलादेशको ढाका उत्तर सहर निगम ढाका नर्थ सिटी कर्पोरेसनका मेयर मोहम्मद आतिकुल इस्लामले महानगरका मेयर विद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा महानगरका प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले छिमेकी नगरसँगको सहकार्यमा उपत्यकाको खुल्ला जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरणीय सुधारका क्षेत्रमा काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै, सहभागिताबाट एकीकृत विकास लक्ष्य पूरा गर्न सकिने बताए।

‘हामी अन्तर्राष्ट्रिय सहरहरुसँगको सम्बन्धबाट सहरी विकासका आयाम र सहरी व्यवस्थापनका थप सीप सिकिरहेका छौँ’, शाक्यले भने, ‘यसरी सिकेका ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ होस् भन्ने हाम्रो चाहना हो।’ उनले बंगलादेश र नेपालबीचको सांस्कृतिक समानता, रहनसहनमा भएको समानता आपसी हित प्रवर्द्धनका आधार रहेको पनि बताए।

भेटका क्रममा बंगालादेश भलिबल फेडरेसनको अध्यक्षसमेत रहेका मेयर इस्लामले ढाका नर्थ सिटी कर्पोरेसनले भोगेको खराब अनुभव, काठमाडौंका लागि असल सिकाइ हुनसक्ने बताए। उनले भने, ‘हाम्रा समस्या र हामीले प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्नुभयो भने काठमाडौंले त्यस्तै खालका समस्या भाग्नुपर्दैन। हामी तपाईहरुलाई फोहोर पानी प्रशोधन, घरेलु फोहोर व्यवस्थापन, दिगो विकास तथा सहरी योजनाका बिषयमा हाम्रा भोगाइ देखाउन र बुझाउनसक्छौं।’

उनले बंगलादेश र नेपालका जनताबीच राम्रो सम्बन्ध भएको बताए। मेयर इस्लामले व्यापारिक सम्बन्ध उल्लेख गर्दै थपे, ‘बंगलादेशमा धेरै नेपाली विद्यार्थी चिकित्सा शास्त्र अध्ययन गर्छन्। हाम्रा देशमा तयार भएका फर्निचरको नेपालमा राम्रो व्यापार छ। यो सम्बन्धलाई अब खेलकुदबाट पनि जोड्नुपर्छ।’

भेटका क्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्तेले भनिन्, ‘बंगलादेश र नेपालका सहरी यातायात व्यवस्थापनमा उस्तै समस्या छ। यसमा आपसी कार्यक्रम सञ्चालन गरियो भने परिणाम ल्याउन सजिलो हुन्छ। बंगालादेशमा हरियो भन्ने ठाउँ नै सकिन लाग्यो। काठमाडौंले अझै सुधार गर्न सक्छ।’

भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन ९एभीसी० प्रतियोगिताका क्रममा मेयर इस्लाम नेपाल आएका थिए।