रविलाई आत्महत्या दुरुत्साहनको अभियोग लगाउन प्रहरीको राय, अब के हुन्छ ?

0
Shares

नेपाल समाचारपत्र, चितवन ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको हो ।

साउन २० गते चितवनको एक होटलमा मृत फेला परेका पुडासैनीको मृत्युअघि रेकर्ड भएको भिडियोमा उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीले फसाउने प्रयास गरेको बताएको पाइएको थियो । त्यसलग्त्तै प्रहरीले उनीहरुलाई प्रक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।

प्रहरीले उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले जानकारी दिए ।

१० दिन म्याद लिएर अनुसन्धान सकेपछि प्रहरीले वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेकाले अब अनुसन्धानका लागि म्याद लिइरहन आवश्यक देखिएको छैन ।

अब जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गर्न सक्नेछ ।

सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्छ । त्यसपछि उक्त मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ ।

अन्त्यमा अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।