‘भेइकल ट्रयाकिङ सिस्टम’मा सत्ताइस हजार जोडिए

0
Shares

काठमाडौँ। राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू गर्यो ।

उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री गरेर मात्र ओसारपसार गर्नुपर्ने हुन्छ ।

उक्त प्रावधान लागू भएपछि केही दिन व्यवसायीले यो प्रणालीको विरोध जनाउँदै तत्काल लागू नगर्न दबाब नदिएका होइनन्, तर अहिले व्यवसायीहरु धमाधम प्रणालीमा प्रवेश गर्न थालेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले शुरुमा व्यवसायीले नबुझेकाले समस्या आएको बताउँदै छलफल गरेपछि भने प्रविधिको प्रयोग प्रभावकारी हुँदै गएको जानकारी दिनुभयो ।

यसका लागि व्यवसायीले आफ्नो खाता खोल्नुपर्छ । उनीहरु आफैँले यूजर आइडी र पासवर्ड हालेर प्रयोग गर्न सक्छन् । व्यवसायीले सामान इन्ट्री गरेपछि विभागले जुनसुकै स्थानबाट हेर्न सक्छ ।

“अहिलेसम्म ९५ प्रतिशत व्यवसायीले सिष्टममा इन्ट्री गराइसकेका छन्, बाँकीलाई पनि इन्ट्री गराउने प्रयास भइरहेको छ”, मैनालीले भन्नुभयो । यसरी प्रविष्ट गराएपछि कुन गाडीले कति सामान लिएर कहाँबाट हिँड्यो, कहाँ पुग्यो र कहाँ लगेर सामान झा¥यो भनेर निगरानी गर्न सकिन्छ । जसका कारण राजश्व छली नियन्त्रण हुने विश्वास छ ।

‘भेहिकल ट्रयाकिङ सिस्टम’मा जानका लागि शुरुमा व्यवसायीहरुले एकाउन्ट खोल्नुपर्छ । विभागका अनुसार अहिलेसम्म २७ हजार बढीको एकाउन्ट बनिसकेको छ । अहिलेसम्म तीन लाख ५० हजार सवारी इन्ट्री भइसकेको छ । दैनिक झण्डै हजारौँ गाडीले सिष्टममा प्रविष्ट गरेर मालसामान ढुवानी गर्ने गरेको छ । केही साना व्यवसायी सिष्टममा नआएकाले उनीहरुलाई ल्याउने प्रयास जारी रहेको विभागका निर्देशक राजीव पोखरेल बताउनुहुन्छ ।

सरकारले साउन १ गतेदेखि सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त प्रणालीको प्रयोग गर्न नजानेका झण्डै दुई हजार व्यवसायीलाई विभागले प्रशिक्षणसमेत दिइसकेको छ । यो क्रम जारी रहेको र तीन महीना भने प्रचारात्मक कार्यक्रमलाई नै तीव्रता दिने विभागको भनाइ छ । विरोध जनाएका व्यवसायीलाई बोलाएरै विभागले छलफल गरी उक्त प्रणालीको बारेमा जानकारी दिएको थियो । शुरुमा ट्रक व्यवसायीले विरोध जनाएर केही दिन ढुवानी रोकिएको थियो ।

“शुरुमा नबुझेर केही कुराहरु बाहिर आएको रहेछ उहाँहरुसँग छलफल भयो, यो त ट्रकवाला वा चालकले गर्नुपर्ने काम हुँदै होइन, यो त त्यस्ता मालसामान ढुवानी गर्ने फर्म, उद्योग वा कम्पनीले गर्ने काम हो भनेर सम्झाएपछि उहाँहरु सम्झिएर जानुभयो, अहिले सबै ठिक छ”, महानिर्देशक मैनालीले भन्नुभयो ।
रासस