जोखिममा रहेको बस्ती स्थानान्तरण गरिने

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वत जिल्लामा बाढी र पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेभएको छ। जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो।

नदी किनारका र पहिरोको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा सम्म सधै जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र व्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो।

गत वर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङदीमा घर बगाउनुका साथै धेरै घर जोखिममा परेका थिए। कालीगण्डकी नदी, मोदीखोला, सेतीखोला, रतीखोलालगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीसमेत जोखिममा छन्। पर्वतका भंगरा, देउराली, धाइरिङ, तिलहार, देउपुर, होस्राङदीलगायतका बस्ती गत वर्ष पनि पहिरोको चपेटामा परेका थिए। जथाभावीरूपमा बाटो खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन्।

सुकुम्बासी र जबरजस्ती सार्वजनिक जमिन कब्जा गरेरसमेत घर बनाउने काम भएको छ। यस्ता घर र संरचना जुनसुकै बेला बाढीको चपेटामा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको प्रजिअ नेपालले बताउनुभयो। ‘सधैभरि बाढी तथा पहिरोको जोखिममा रहेका बस्ती र संरचना नहटाए सम्म जोखिम सधै रहने भएकाले स्थानीय तहलाई जिम्मेवार बनाएर सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन जरुरी छ’–उहाँले भन्नुभयो ‘विपद् आउनुपूर्व नै सुरक्षित बनाउन सके जनधनको क्षति न्युनीकरण गर्न सकिन्छ भनेर यस्तो निर्णय भएको हो।’

पर्वतको समग्र विपद् व्यवस्थापनको बारेमा बनाइएको उक्त विपद्प्रति कार्य योजनामा ७ वटा स्थानीय तहमा जोखिम युक्त स्थानको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकायलगायतको सूचनासहितको विवरण उल्लेख गरिएको छ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले स्थानीय पालिकाहरूले विपद्को बारेमा जिम्मेवार भई बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिनुभयो।