स्थानीयको संवेदनशीलता बुझेर अघि बढ्नुपर्नेमा जोड

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
हरी प्रशासनले स्थानीय जनताको भाषिक, सांस्कृतिक संवेदनशीलता बुझेर अघि बढ्नुपर्नेमा सम्बद्ध पक्षले जोड दिएको छ।
‘समुदाय प्रहरी साझेदारी’ अभियानअन्तर्गत प्रहरी प्रभाग मंगलबजार ललितपुरले बुधबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन्। प्रभागको प्रमुखको रूपमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठको परिचयसँगै स्थानीयको चाहना र भावना बुझ्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।

सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले नेपाली भाषा नबुझ्ने सेवाग्राहीका लागि प्र्रभागमा नेपालभाषा डेस्क राख्न सके प्रहरी प्रशासनप्रतिको अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्लाका अध्यक्ष अरोजकुमार खड्गीले प्रभागको कार्यक्षेत्रमा थुप्रै संस्कृति, सम्पदा, जात्रा पर्व सञ्चालन हुने भएकोले त्यसको महत्व र प्रकृतिलाई बुझेर ‘पुलिसिङ’ गर्नुपर्ने बताउनुभयो।

सोही कार्यक्रममा स्यस्यः समाजका अध्यक्ष हरिहरमंगल जोशीले स्थानीय जनताको भावना बुझेर नै प्रहरी प्रशासनले सहज तरिकाले काम गर्न सक्ने भन्दै प्रहरी प्रशासनप्रति अपनत्व बढाउनुपर्ने खाँचो व्यक्त गर्नुभयो।

नकबही टोल सुधार समितिका अध्यक्ष किरणनरसिंह शाक्यले समुदायको तृण मूल (ग्रास रुट) मा गएर ‘समुदाय प्रहरी साझेदारी’ अभियान सञ्चालन गर्न सके प्रहरी प्रशासनप्रतिको अपनत्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सम्पदाको सुरक्षामा प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

समुदाय प्रहरी साझेदारीमा लामो समयदेखि सक्रिय हुनुभएका हसिना शाक्यले महिलामाथि हुने घरेलु हिंसा, महिलाले भोग्नुपरेका विभिन्न समस्या समाधानका लागि प्रहरी प्रशासन र महिला समूहबीच अन्र्तक्रियालाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष सुनील महर्जनले सुरक्षा भनेको मानिसले अनुभूति गर्ने विषय रहेको उल्लेख गर्दै प्रहरी प्रशासनप्रतिको अपनत्व, विश्वासले सुरक्षाको अनुभूतिमा सघाउने धारणा राख्नुभयो। उहाँले समुदाय प्रहरी साझेदारी अभियान प्रहरी प्रशासनमा पहुँच नभएका, राजकाजको अनुभव नभएका समुदायको लागि झन् महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला समूह, युवा वर्गमाझ अन्र्तक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा मंगल टोलसुधार समितिका उपाध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पर्यटकलाई जबरजस्ती सामान किन्न लगाएर दिइने दुःख र पूर्णचण्डी टोल सुधार समितिका अध्यक्ष अशोक श्रेष्ठले चोरीको समस्या बारे जानकारी दिनुभयो।

स्थानीयको धारणा, जिज्ञासालाई सम्बोधन गर्र्दै प्रहरी निरीक्षक श्रेष्ठले समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्तिसुरक्षा, अपराध अनुसन्धानमा जनताको साथ बिना प्रहरीले मात्र प्रभावकारी तरिकाले काम गर्न नसक्ने धारणा राख्नुभयो। ‘यहाँको संवेदनशीलता, मनोविज्ञानलाई बुझेर प्रहरी प्रशासनप्रति जनताको अपनत्वलाई बढाउने छु’ –प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो।