सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिनुभयो ।
उनीसँगै जुम्ला पातारासी गाउँपालिका–५ पटमारा गाउँ निवासी हाल चन्दननाथ नगरपालिकाको एयरपोर्टमा बस्दै आएका ३६ वर्षीय राजबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।
“फोरेन्सिक ल्याबको परीक्षण र उनीहरुको अन्य वार्तालापको प्रमाणबाट मल्ल र बुढा दुवै जना लागुऔषध कारोवारमा संलग्न रहेको पाइएकाले पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले उनीहरु दुवैमाथि थप अनुसन्धान चलिरहेको छ ।” उहाँका अनुसार मल्ल र बुढाको अनुसन्धानले ठूला कारोवारीको नाम पनि खुल्ने देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खरीदार मल्लको गतिविधिका कारण उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उनीसँगै समातिएका बुढासहित अहिलेसम्म लागुऔषधका नौ जना व्यक्तिलाई समातेर कारवाही गरिएको छ । रासस
प्रतिक्रिया