कृष्णउदास खनाल, वीरगन्ज ।
भारतमा बेचिनबाट तीन युवतीहरु जेगिएका छन् । भारतसंग सीमा जोडिएको पर्साको ठोरी नाकाबाट प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेपछि उनीहरु बिक्री हुनबाट जोगिएका हुन् । उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेका छन् । उद्धार गरिएका मध्ये दुईजना २२ वर्षका र एक जना २५ वर्षकी युवती रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।
चितवन भरतपुरको चौबीस कोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्बरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए ।तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत पु¥याउन लागेको तथा बाटोमा कसैले सोधेमा किसान विश्वकर्माको दिदी बहिनी नाता पर्छौ भन्न युवतीहरुलाई सिकाएको प्रहरीको भनाइ छ ।
ठोरी नाकामा सोमबार बसबाट झरेका युवतीहरुको गतिविधि शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा उनीहरुको उद्दार गरिएको र युवतीका घरपरिवारसँग सम्पर्कको प्रयास भइरहेको तथा युवतीहरुलाई भारत लैजाने ३ जना पूरुषलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया