प्रहरी हिरासतबाट २ भारतीय थुनुवा फरार


भद्रपुर । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर दुइ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको श्रेष्ठले जनाउँनुभयो । उनीहरु चोरीको आरोपमा समातिएका थिए । डिउटीमा रहेको प्रहरी शौचालय गएको मौका पारेर उनिहरु भागेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीको निगरानी हुँदाहुँदै हिरासत कक्षकै ताला फोडी थुनुवा भागेपछि प्रहरीलाइ कडा कारबाही हुने उहाँले बताउँनुभयो । घटनाको विषयमा अनुसन्धान सुरु गरेको जनाइएको छ । घट्नापछि थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केहिदिन अघि लागू औषधसहित पक्राउ परेका इलामका २४ वर्षीय शङ्कर गजमेरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखि स्वास्थ्य परीक्षण गराउन अस्पताल लगिएको अवस्थामा त्यहीँबाटै फरार भएका थिए ।

त्यसैगरी एकबर्ष अघि साउन २७ गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारको पर्खाल नाघेर दिउँसै फरार भएका थिए । उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए ।