चालक जाँच्दै, इजाजत नभएका फिर्ता


मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र मातहतका युनिटहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेको समन्वयमा चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गर्दै रुट इजाजत पत्र नलिई संचालन भएका मालवाहक ट्रक तथा ट्रिपरहरुलाई संचालनमा रोक लगाएको छ ।

‘आईतबार साँझसम्म १ सय ३५ वटा सवारी साधनलाई उपत्यकाको सिमाना साँगाबाट फर्काएका छौं’–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवालले बताउनु भयो–‘रुट इजाजतपत्र नलिई संचालन भएका सबै सवारी साधनलाई संचालनमा रोक लगाउँदै कडाईका साथ चेकजाँच गरेका छौं ।’ सिलवालले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा र अन्य प्रहरी युनिटको समन्वय र सहयोगमा सवारी चेकजाँचलाई कडाई गरेको बताउनु भयो । आईतबार साँगामा प्रहरी नायव निरिक्षक (सई) राजेश दाहालको कमाण्डमा खटिएको टोलीले साँगाबाट दर्जनौ सवारी साधनहरु रुट इजाजत नभएकै कारण फर्काएको छ ।

साउन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लामा कार्यरत ५ जना प्रहरीलाई रंगेहात घुस रकम सहित पक्राउ गरेको थियो । उक्त घटना पछि प्रहरीका सबै युनिटहरुलाई कडाई गर्दै सवारी चेकजाँचलाई तिब्र बनाईएको छ । शुक्रबार देखि शुरु गरिएको आकस्मिक चेकजाँचमा १ सय ३५ वटा सवारी साधनलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले ओभरलोड, भवरलोड, पानी चुहाउने, कागजपत्र साथमा नबोकेका सवारी साधनहरु, नक्कली सवारी अनुमति पत्र लिएर सवारी चलाउने चालकहरुको निगरानी तथा पहिचान पछि कारवाही, प्रेसर हर्न न्यूनिकरण अभियानलाई तिब्र बनाएको प्रमुख सिलवालले बताउनु भयो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि चालक र सहचालकलाई प्रशिक्षण, ‘चालकसँग एक मिनेट कार्यक्रम’, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन लगायतका कार्यक्रम दैनीक गरिरहेको प्रहरी निरिक्षक सिलवालले बताउनु भयो । सेवालाई प्रभावकारी सँगै दु्रत गतिमा अगाडी बढाईएको छ ।

ट्राफिक गतिविधि बढाएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र ईलाका प्रहरी कार्यालय बनेपाले चालक र सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । सडकमै स्वास्थ्य क्लिनिक राखी चालकको प्रेसर लगायतका विभिन्न परिक्षणहरु गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले मातहतका सबै युनिटमा कार्यरत प्रहरीहरुलाई शुन्य सहनशिलता कायम गर्न, प्रहरी आचार संहिता भित्र बसी नागरिकहरुको सुरक्षामा ध्यान दिन निर्देशन दिनु भएको छ ।

‘दैनीक कुनै न कुनै प्रहरी युनिटमा पुगी अनुगमन, निरिक्षण र निर्देशनका साथ समस्या समाधानमा सहजीकरण गरिरहेको छु्’–एसपी सापकोटाले भन्नुभयो–‘प्रहरीले नागरिकलाई दिने सेवामा कुनै पनि हालतमा कमी हुनु हुँदैन ।’ मण्डनदेउपुर नगरपालिका वडा नं १ डाँडागाऊँ स्थित जनकल्याण आधारभुत माविमा प्रहरी र विद्यार्थीहरुको सहभागितामा १ हजार ७ सय गाँजाको वोटहरु फडानी गरी नष्ट गरिएको छ ।

पाँचखाल न.पा वडा नं ४ स्थित दुग्धेश्वर माविमा अध्यनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई साईवर अपराध, बालयौन दुब्यर्वहार, लागुऔषध सम्बन्धि अनुशीक्षण दिई जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको एसपी सापकोटाले बताउनु भयो ।