जाइरामा नम्रताको रोमान्टिक र एक्सन रूप


नायिका तथा निर्मात्री नम्रता श्रेष्ठ एक्सन अवतारमा देखिने फिल्म जाइराको ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच आगामी भदौ ६ गते अल नेपाल रिलिज हुने जाइराको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ। २ मिनेट १ सेकेन्ड लामो ट्रेलर इन्गेजिङ छ। आशुतोषराज श्रेष्ठ निर्देशित फिल्ममा नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा छिन्। उनी एक्सन र रोमान्टिक दुवै अवतारमा देखिएकी छिन्। ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतूहलता बढाउँछ। फिल्मका लागि उनले कपाल खौरिएकी थिइन्। ट्रेलरमा अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने देखिन्छ।

फिल्ममा नम्रता र प्रमोदसँगै अनुपविक्रम शाही, रेमणदास श्रेष्ठ, नव–कलाकारहरू सृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन्। निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेको फिल्ममा प्रसन्न गोपाली कार्यकारी निर्माता रहेका छन्। नायिका श्रेष्ठको होम प्रोडक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बाबु श्रेष्ठको छायांकन र लोकेश वज्राचार्यको सम्पादन छ।

जाइरामा एक्सन अवतारमा प्रस्तुत भएकी नायिका नम्रताले जाइराअघि आफूले कहिल्यै एक्सन फिल्म गर्नेबारे नसोचेको बताइन्।