रिलमा सम्राटको शान, रियलमा बनमा बयान

0
Shares

रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटालाई प्रहरीले वन्यजन्तु अपराध सम्बन्धमा बयान लिएको छ। वन्यजन्तु अपराध सम्बन्धी विषयको छानविनका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोधपुछ गरेको हो।

मृत्त हरिण, चित्तल र भरुवा बन्दुक बोकेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको पाइएपछि सीआईबीले सापकोटामाथि कानूनी कार्वाही अघि बढाउने क्रममा उनीसँग बयान लिएको हो। सीआईबीले सोमबार उनलाई थप बयानका लागि डिभिजन वन कार्यालय काठमाडौंमा उपस्थित गराएको छ। सापकोटा मंगलबार पनि बयानका लागि वन कार्यालय हात्तिसार पुगेका थिए।

उनले पोस्ट गरेको तस्वीर हालसालैको भने होइन, दुई दशकअघि बर्दिवासको चारकोसे जंगलमा आर्मी नामक फिल्मको सुटिङको समयको हो। ‘कुनै बेला चारकोशे जंगलमा शिकारी हुँदाको अवस्था’ भन्ने व्यहोराको क्याप्सनसहित डेढ साता अघि उनले त्यस्तो तस्वीर पोस्ट गरेका थिए। सो फिल्म शोभित बस्नेतको निर्माण र निर्देशनमा तयार भएको हो।

फिल्म छायांकनका लागि प्रशासनको अनुमतिमा हरिण र चित्तल मारिएको र यसबारेका अन्य आवश्यक प्रमाण बुझाउने प्रतिवद्धता जनाएपछि मंगलबार वन कार्यालयले सापकोटालाई साधारण तारेखमा छोडेको छ। गत साता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा वन्यजन्तु शिकारबारे तस्वीरसहितको उजुरी परेपछि सापकोटा कानूनी कार्वाहीमा तानिएका हुन्।

सापकोटाले आफू र आर्मी फिल्म युनिटले कुनै गैर कानूनी कृयाकलाप नगरेको जनाउँदै नेपाल समाचारपत्रसँग भने– ‘मैले पोस्ट गरेको तस्वीर २०५५/५६ साततिर आर्मी फिल्म सुटिङको बेलाको हो, सुटिङका लागि तत्कालिन प्रशासनको स्वीकृत लिएर दुई जन्तु मारिएका थिए।’

दुई दशकको अन्तरालपछि सो बेलाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट हुँदा फरक ढंगमा बुझिएको र अनावश्यक बढाई चढाई भएपछि आफूमाथि उजुरी परेको उनको तर्क छ। तस्वीर पोस्ट गरेको भोलीपल्ट आफैंले डिलिट गरेपछि धेरैले नकारात्मक रुपमा बुझेको हुन सक्ने सापकोटा बताउँछन्।

उनले प्रमाण नबुझाएको खण्डमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ६ अनुसार ६ महिना कैद वा २० हजार रुपियाँ जरिवाना हुन सक्ने वन कार्यालयले जनाएको छ। ‘उहाँले जनाउनु भएको प्रतिवद्धताअनुसारको प्रमाण जुटेन भने कैद, नगद जरिवाना वा दुवै सजाय पनि हुन सक्छ’ –सो कार्यालयका एक अधिकारीले भने।