अन्तरिक्षमा पहिलो पाकिस्तानी पठाउने योजना


इस्लामाबाद (एजेन्सी) ।
पाकिस्तानले अन्तरिक्षमा आफनो पहिलो नागरिक पठाउने योजना सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधी मन्त्री फवाद चौधरीले यस बारेमा ट्विट गरी जानकारी दिएको हो । उनले भने ( यो घोषणा गर्न पाउँदा मलाई खुसी भइरहेको छ, कि अन्तरिक्षमा पाकिस्तानका पहिलो नागरिक पठाउने प्रक्रिया सन् २०२० देखि शुरु हुनेछ । यसका लागि ५० जनाको चयन गरिनेछ । अन्तमा ती मध्यबाट कुनै एकलाई चयन गरिनेछ । सन् २०२२ मा हामी पहिलो पाकिस्तानी अन्तरिक्षमा पठाउनेछौं ।

मन्त्रीले सन्चार माध्यमसँग जानकारी साझा गर्दै भने ( हाम्रो इतिहासमा यो सबैभन्दा ठुलो अन्तरिक्ष कार्यक्रम हुनेछ ।पाकिस्तानी वायु सेना अन्तरिक्ष अभियानका लागि चयन प्रक्रियामा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।
शुरुमा चयन गरिएका ५० पाइलटबाट १० पाइलटको अन्तिम छनौट गरि उनीहरुलाई प्रशिक्षण दिइनेछ । यसबाट पनि मात्र १ पाइलट अभियानका लागि चयन हुनेछ । उनी अन्तरिक्ष पुग्ने पहिलो पाकिस्तानी नागरिक हुनेछ ।

पाकिस्तानसँग उपग्रह प्रक्षेपणगर्ने सुविधा नभएकोले यसका लागि पाकिस्तान र चीनबीच सम्झौता भएको चौधरीले बताए । यस सहमतिपछि पाकिस्तान यसका लागि चीनमा रहेको सुविधा प्रयोग गर्नेछ । गत बर्ष चीनको रकेटको सहयोगबाट पाकिस्तानले पृथ्वीको कक्षमा दुई उपग्रह प्रक्षेपण गरिएको थियो ।