रहेनन् क्रिकेटर


हेटौंडा, (नेस) ।
मकवानपुर क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ । रक्तक्यान्सरबाट पीडित श्रेष्ठको आइतबार विहान काठमाडौंस्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो ।

आइतबार विहान करिब ५ बजे श्रेष्ठको ३६ वर्ष उमेरमा निधन भएको हो । उनी आठ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेका थिए । निरज करिब २ वर्षदेखि रक्तक्यान्सरसँग लडिरहेका थिए ।

१५ वर्ष उमेरमा क्रिकेटको ब्याट उचालेका निरजले ४ वटा राष्ट्रियस्तरका क्रिकेट लिग खेलेका थिए । २०६०–६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका थिए उनले । उनकै कप्तानीमा रहेको टिमले जिल्लास्तरीय प्रतियोगिताका धेरै उपाधि जितेको थियो । हेटौंडा–५, सानोपोखरा निवासी निरज मकवानपुर क्रिकेट संघका सदस्य र संघका पूर्वकोषाध्यक्ष पनि हुन् ।

मकवानपुरको क्रिकेटमा खेलाडीको खडेरी टारेका थिए श्रेष्ठले । त्यसैले पनि निरजलाई यहाँको क्रिकेटको हस्तीका रुपमा लिइन्छ । उनलाई बचाउन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित सिनियर खेलाडीले हेटौंडामा च्यारिटी क्रिकेट म्याच खेलेका थिए । च्यारिटी क्रिकेटबाट संकलित रकम निरजको उपचारमा खर्च गरिएको थियो ।

खेलकुद विकास समिति मकवानपुर सचिव खुशराज दाहालले श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताउनुभयो । श्रेष्ठकी आमा, बुबासहित पत्नी र एक छोरा छन् ।